आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ गते २०८२

२०८२, भाद्र १ गते

17th Aug 2025

    आइतवार, भाद्र १ २०८२

नेपालरैबार बुलेटिन: आज दिनभरका प्रमुख २० समाचार

नेपालरैबार बुलेटिन: आज दिनभरका प्रमुख २० समाचार

श्रावण ३१, २०८२ शनिवार
श्रावण ३१, २०८२ शनिवार
  • नेपालरैबार बुलेटिन: आज दिनभरका प्रमुख २० समाचार

    आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

    १- सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागारमा स्थानान्तरण भएका छन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नताको आरोपमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछाने ब्लक नम्बर ४ मा थुनिएका थिए । कारागार सरुवाको माग गर्दै उनले दोस्रो पटक बुधबार नख्खु कारागार स्थानान्तरण गर्न निवेदन दिएका थिए । लामिछानेलाई शनिबार हवाइमार्ग हुदै काठमाडौँ ल्याएर नख्खु कारागार पुर्याइएको हो । लामिछानेलाई ल्याउने समयमा नख्खु कारागार अगाडी ठुलो संख्यामा रास्पवाका कार्यकर्ता उपस्थित थिए ।

    २- पाकिस्तानमा बाढीका कारण पछिल्लो ४८ घण्टामा ३४० जना भन्दा बढीको मृत्यु भएको छ । पाकिस्तानी मिडिया जियो न्यूजका अनुसार सबैभन्दा धेरै मृत्यु खैबर पख्तुनख्वा प्रान्तमा भएको छ, जहाँ नदीको बाढी र घरहरू भत्किँदा ३२८ जनाको मृत्यु भएको छ । त्यस्तै गिलगित बाल्टिस्तान मा १२ जना र पाकिस्तान प्रशासित जम्मू कश्मीरमा ११ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण शुक्रबार पाकिस्तानका विभिन्न जिल्लाहरूमा अचानक बाढी आएको थियो । विभिन्न नौ जिल्लाहरूमा लगभग २ हजार उद्धारकर्मीहरू उद्धारमा संलग्न रहेको र अझै पनि सबै ठाउमा उद्धार गर्न नसकेको बताइएको छ ।

    ३-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेट धेरै राम्रो भएको बताएका छन् । ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै पुटिनसँगको बार्ता धेरै राम्रो भएको बताउदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नेटोका महासचिव सहित धेरै युरोपेली नेताहरूसँग फोनमा कुराकानी भएको बताएका छन् । उनले भनेका छन्- अलास्कामा एक अद्भुत र अत्यन्तै सफल दिन ! रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेट धेरै राम्रो रह्यो, जस्तै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नेटोका महासचिव सहित धेरै युरोपेली नेताहरूसँगको अबेर रातीको फोन कल ।' आफ्नो पोस्टमा ट्रम्पले युद्धविराम सम्झौताको सट्टा शान्ति सम्झौतामा जोड दिएका छन् । उनले लेखेका छन्- 'सबैले निर्णय गरे कि रूस र युक्रेन बीचको भयानक युद्ध अन्त्य गर्ने उत्तम तरिका भनेको प्रत्यक्ष शान्ति सम्झौतामा पुग्नु हो, जसले युद्धलाई पूर्ण रूपमा अन्त्य गर्नेछ । युद्धविराम सम्झौताहरू प्रायः लामो समयसम्म टिक्दैनन् ।'

    ४- शताब्दी लामो इतिहासको बोकेको नेवारी संस्कृतिमा आधारित ताया: मचा नृत्य पोखराको शिशुवामा प्रदर्शन भइरहेको छ । पोखरा महानगर क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले यसलाई सांस्कृतिक उत्सवका रूपमा विगत लामो समयदेखि मनाउँदै आइरहेका छन् । नेवा खाल कास्कीको आह्वानमा नेवा: खल: शिशुवाले २६औँ संस्करणको सामूहिक नृत्य प्रतियोगिता संयोजन गरिरहेको छ । प्रतियोगिताले कला, संस्कृतिको संरक्षण र पुस्ता हस्तान्तरणको उद्देश्य राखेको नेवा खल कास्कीका अध्यक्ष अशोक  पालिखेले बताउनुभयो । प्रत्येक वर्ष फरक फरक ठाउँमा हुँदै आएको कास्की जिल्ला स्तरीय प्रतियोगिताको २६औँ संस्करण यस वर्ष शिशुवामा गरिएको हो । प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । प्रतियोगितामा महिला र पुरुषका छुट्टाछुट्टै ताया: मचा समूहले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ प्रथम हुने समूहले रु.१ लाख ११ हजार १ सय ११, द्वितीय हुनेले ७७ हजार ७ सय ७७, तृतीय हुनेले ५५ हजार ५ सय ५५ र चौथो हुनेले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिलातर्फ प्रथम, द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः ४० हजार, ३० हजार, २५ हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी टिमलाई १५–१५ हजार रुपैयाँ प्रोत्साहन दिइनेछ ।

    ५- जिल्ला प्रशासन कार्यालय काभ्रेले रातको समयमा बिपी राजमार्गको काभ्रे भन्ज्याङदेखि सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधन रोक लगाउने निर्णय गरेको छ । रातको समयमा बिपी राजमार्गमा यात्रुवाहाक सवारी साधन बन्द गर्ने निर्णयलाई निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । यस अघि साउन मसान्तसम्म रातिमा बन्द गरिएकोमा भदौ १ गतेदेखि १५ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबैखाले सवारीमा रोक लगाएको छ । यस अघि वर्षाका कारण आउन सक्ने बाढी पहिरोका कारण बिपी राजमार्ग सञ्चालन हुने सवारीमा क्षति पुग्न सक्ने भन्दै रातको समयमा सवारी रोक लगाइएको थियो । रोसी खोला तथा राजमार्गमा पर्ने खहरे खोलामा वर्षासँगै आउने बाढी, लेदो र गेग्रानका कारण राजमार्गको विभिन्न स्थानमा सडक घण्टौँ अवरुद्ध हुँदा यात्रुहरूमा मर्का परेपछि प्रशासनले रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो । गत असोज १२ गते पछि बिपी राजमार्ग काभ्रे हुँदै पूर्व चल्ने सवारीहरू बाढीले राजमार्गमा क्षति पुगे सँगै सञ्चालनमा समस्या हुँदै आएकोछ ।

    ६- पाल्पा, सुर्खेत र खोटाङबाट जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको माथागढी गाउँपालिका-१ बस्ने ६२ वर्षीय तुल बहादुर झेडी मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट माणीफाँटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  त्यस्तै १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-८ बस्ने कैलाली धनगढी उपमहानगरपालिका-३ घर भएका ४२ वर्षीय राजकुमार चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यसैगरी ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङको केपिलासगढी गाउँपालिका-५ आमबोटे बस्ने ३७ वर्षीय सुमन राईलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी खार्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    ७- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग लगभग एक घण्टा 'लामो कुराकानी' टेलिफोन कुराकनी गरेका छन् । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले अलास्काबाट वाशिंगटन डीसी फर्कने क्रममा ट्रम्पले जेलेन्स्कीसँग लामो कुराकानी गरेको जानकारी दिएकी छन् । ट्रम्पले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँगको वार्तापछि युक्रेन युद्ध बारे भएको छलफलको ब्रिफिङ जेलेन्स्कीलाई गरेका हुन् । लेभिटले ट्रम्पले नाटो देशका नेताहरूसँग पनि फोनमा कुरा गरेका बताएकी छन् ।  युक्रेनी राष्ट्रपति कार्यालयले जेलेन्स्कीले बिहान ट्रम्प र युरोपेली नेताहरूसँग कुरा गरेको पुष्टि गरेको छ । कार्यालयले भनेको छ- 'यो लामो कुराकानी थियो । यो कुराकानी जेलेन्स्की र ट्रम्प बीच सुरु भयो, त्यसपछि युरोपेली नेताहरू पनि यसमा सामेल भएका थिए ।' युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सोमबार वाशिंगटन डीसीमा राष्ट्रपति ट्रम्पलाई भेट्ने बताएका छन् । टेलिग्राममा एक अपडेटमा उनले निमन्त्रणाको लागि आभार व्यक्त गरेका छन् । आज बिहान भएको ट्रम्प पुटिन बार्तामा सहमति नबनेपनि दुवै नेताले सकारात्मक भएको टिप्पणी गरेका छन् । 

    ८- मधेश स्पोट्र्स प्रालिको आयोजनामा पोखरामा हुन लागेको एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी वीरगंजमा भव्य समारोहबीच अनावरण गरिएको छ । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र मधेश युनाईटेडकी ब्रान्ड एम्बेसडर नीति शाहले संयुक्त रूपमा ट्रफीको अनावरण गरेका हुन् । सो अवसरमा मेयर सिंहले लिगको फ्रेन्चाइज टिम मधेश युनाईटेडको नयाँ जर्सी सार्वजनिक गर्नुका साथै टिमकी मार्की प्लेयर निरुता ठगुन्नालाई जर्सी हस्तान्तरण समेत गरेका थिए ।

    ९- अस्ट्रेलियाका पूर्व कप्तान तथा प्रशिक्षक बब सिम्पसनको ८९ वर्षको उमेरमा सिड्नीमा निधन भएको छ । क्रिकेट अष्ट्रेलियाले १६ अगस्ट २०२५ मा आधिकारिक रूपमा उनको मृत्युको पुष्टि गरेको छ । सिम्पसन एक उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट स्लिप फिल्डर मात्र थिएनन्, तर प्रशिक्षकको रूपमा उनले अस्ट्रेलियाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याएका थिए । सिम्पसनले १९५७ मा आफ्नो टेस्ट डेब्यू गरे र १९७८ सम्म खेल्न जारी राखे । उनले अस्ट्रेलियाका लागि कुल ६२ टेस्ट खेल खेलेर ४ हजार ८६९ रन बनाए र १० शतक प्रहार गरेका थिए । उनले कुल ३९ टेस्ट खेलमा अस्ट्रेलियाको कप्तानी गरे । १९७७ मा, जब टोली पतनबाट गुज्रिरहेको थियो, उनी ४१ वर्षको उमेरमा कप्तानको रूपमा फर्किए । सिम्पसनले अष्ट्रेलियालाई प्रशिक्षकको रूपमा नयाँ पहिचान दिए । उनी १९८६ मा देशको पहिलो पूर्ण-कालीन प्रशिक्षक बने र १९९६ सम्म यस पदमा रहे । उनको कार्यकालमा अष्ट्रेलियाले १९८७ को विश्वकप जित्यो, १९८९ मा इङ्गल्याण्डबाट एशेज जित्यो र १९९५ मा वेस्ट इन्डिजलाई पराजित गरेको थियो ।

    १०- अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार हुन लागेको नयाँ फिल्म ‘३६को आँकडा’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा मुख्य भूमिकामा रहेका रेखा थापा र पूजा शर्मा फिचर छन्। प्रहरी अधिकारीको भूमिकामा प्रस्तुत भएकी रेखाले पूजालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ। पोस्टरमा रेखाको अनुहारमा संघर्षपछि प्राप्त विजयको अभिव्यक्ति देखिन्छ भने पक्राउ परेकी पूजाको अनुहारमा अझै टक्कर जारी रहेको भाव झल्किन्छ । आज सार्वजनिक पोस्टरले नेपाली फिल्ममा प्रायः नदेखिएको फरक दृश्य प्रस्तुत गरेको छ। दुई महिला पात्रबीचको द्वन्द्वलाई फिल्मको केन्द्रमा राखिएको देखिन्छ, जुन सम्भवतः नेपाली फिल्म इतिहासमा पहिलोपटक हो। यस आधारमा फिल्मले विशेष खाले कथा प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ। फिल्ममा रेखासँग पछिल्लो समय अभिनयका लागि चर्चित महेश त्रिपाठीको जोडी बाँधिनेछ भने पूजासँग पुष्प खड्काको जोडी देखिनेछ ।

    ११- तीन दिन अघि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिमिल्सिनाले कारागारबाट भागेका कैदी खोटाङको  प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई प्रहरीले झापा जिल्लाको बिर्तामोड नगरपालिका १०, बिराटपोखरस्थित आफन्तको घरबाट पक्राउ गरिएको जानकारी दिए । जबरजस्ती करणी कसूरमा कारागारमा सजाय भोगिरहेका पौडेल खत्रीलाई प्रहरीले पक्राउ गरी थप कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ । जबरजस्ती करणी कसूरमा १३ बर्ष कै्रद सजाय पाएका खत्रीले एक बर्ष कैद भुक्तान गरेका छन् ।

    १२- अल्जेरियाको राजधानी नजिकै एउटा बस पुलबाट नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ । बिबिसीका अनुसार दुर्घटनामा धेरै जना घाइते भएका छन्, जसलाई अस्पताल लगिएको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तेब्बौनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

    १३- बैतडी कुवाकोट निवासी एमाले केन्द्रीय परिषद् सदस्य दिपेन्द्र कुवर ‘यथार्थ’ एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । जनयुद्ध कालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुवर नेकपा विभाजन पश्चात एमालेमा सक्रिय रहेका थिए । कुवरलाई माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवास खुमलटारमा स्वागत गरेका हुन् ।माओवादी केन्द्रका बैतडी जिल्ला इञ्चार्ज नरेन्द्र कुवर ‘विजय सुन्दर’ ले दिपेन्द्र कुवर पार्टीमा पुनर्मिलनको निम्ति सहजीकरण गरेका थिए ।

    १४- यस बर्षको बहुप्रतिक्षित फिल्म 'बलिदान' को टिजर रिलिज भएको छ । दशैंको फूलपाती अर्थात् १३ असोजबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’को टिजर शनिबार सार्वजनिक गरिएको हो । शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर सार्वजनिक करिब २ मिनेट लामो टिजर अभिनेता समीर भट्टमाथि केन्द्रित रहेको छ । सन्तोष सेनको निर्देशनमा बनेको फिल्ममा भट्टसहित सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा र निर्देशक सेनको पनि महत्वपूर्ण भूमिका रहेको छ । आसुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । फिल्ममा दर्शन जीको लेखन, महेश पौडेलको छायांकन, सुजन चापागाईँको संगीत निर्देशन तथा स्टन्डर साम र श्री श्रेष्ठको द्वन्द्व निर्देशन सम्पादन रहेको छ ।

    १५- नेपाल टेलिकमको खुद नाफा ५७.२१ प्रतिशतले घटेको छ । आर्थिक बर्ष २०८१-८२ को चौथो त्रैमासिकसम्म खुद मुनाफा २ अर्ब ६६ करोड ८१ लाख ९२ हजार रहेको छ भने उक्त रकम गत आर्थिक बर्षको सोहि अवधिको  खुद मुनाफा भन्दा ५७.२१ प्रतिशतले कमि रहेको छ । गत आर्थिक बर्षमा टेलिकमको खुद मुनाफा ६ अर्ब २३ करोड ५५ लाख २ हजार रहेको थियो भने आर्थिक बर्ष २०८१-८२ मा घटेर ३ अर्ब ५६ करोड ७३ लाख ९ हजार पुगेको छ । टेलिकमको आर्थिक बर्ष २०८१-८२ मा प्रति शेयर आम्दानी १४.८२ रुपैयाँ मात्र रहेको छ । टेलिकमको यस २०८१-८२ आर्थिक बर्षको चौथो त्रैमासिकसम्म कुल सञ्चालन आय ३४ अर्ब ५३ करोड २४ लाख ४२ हजार रहेको छ । सो रकम गत आर्थिक बर्षको सोही अवधिको कुल सञ्चालन आयमा ०.०८ प्रतिशतले कमि हो । त्यस्तै आर्थिक बर्ष २०८१-८२ को चौथो  त्रैमासिकसम्म कुल आय ३८ अर्ब ७२ करोड ३३ लाख ४१ हजार  रहेको र उक्त रकम गत आर्थिक बर्षको सोहि अवधिको कुल आय भन्दा ८.०३ प्रतिशतले कमि रहेको देखिएको छ । त्यस्तै आर्थिक बर्ष २०८१-८२ को चौथो त्रैमासिकसम्म कर अघिको मुनाफा ११ अर्ब २१ करोड ६३ लाख ४८ हजार रहेको छ र उक्त रकम गत आर्थिक बर्षको सोहि अवधिको कर अघिको मुनाफा भन्दा ०.३० प्रतिशतले कमि रहेको छ । टेलिकमले गत आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षमा राजश्व तथा खुद मुनाफा परिवर्तन हुनुका प्रमुख कारणहरुमा ओटीटी सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गत आर्थिक बर्षको चौथो त्रैमासिकसम्मको तुलनामा करिब ४१ करोड ९० लाख ७० हजार अर्थात् १४ प्रतिशतले कम भएको र ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस र एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको बताएको छ ।

    १६- साउदी प्रो लिग क्लब अल नासरले फ्रेन्च विंगर किंग्सले कोमनलाई भित्र्याएको छ । अल नासरले कोमनसँग तीन बर्षको सम्झौता गरेको हो ।  २९ बर्षिय कोमनलाई अल नासरले बयार्न म्युनिखबाट किनेको हो । मिडिया रिपोर्टका अनुसार अल नासरले कोमनका लागि ३० मिलियन युरो खर्च गरेको छ । अल नासरले यसअघि पोर्चुगलका जोआओ फेलिक्स र स्पेनिस डिफेन्डर इनिगो मार्टिनेजलाई भित्र्याएको थियो । यस अघि  अल नासरले ३४ बर्षिय स्पेनिस डिफेन्डर  इनिगो मार्टिनेजलाई बार्सिलोनाबाट फ्री ट्रान्सफरमा भित्र्याएको थियो । मार्टिनेजलाई अल नासरले बार्षिक १० मिलियन युरो दिने गरि भित्र्याएको बताइएको छ । उनको बार्सिलोनामा बार्षिक ७ मिलियन युरो पारिश्रमिक रहेको थियो । त्यस्तै फेलिक्सलाई अल नासरले बार्षिक १२ मिलियन युरोमा भित्र्याएको थियो ।

    १७- इङलिश प्रिमियर लिगको नयाँ सिजनमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले बोर्नमाउथलाई ४-२ गोल अन्तरले पराजित गर्दै नयाँ सिजनमा विजयी शुरुवात गरेको थियो । २-० ले अगाडी रहेको लिभरपुलविरुद्ध बोर्नमाउथले शानदार कमब्याक गर्दै खेलको ७६औ मिनेटमा २-२ को बराबरी गरेको थियो । बोर्नमाउथका लागि दुवै गोल एन्टोइन सेमेन्योले गरेका थिए । तर त्यसपछि खेलको ८८औं र ९४औं मिनेटमा गोल गर्दै लिभरपुलले कमब्याक गरेको थियो । लिभरपुलका लागि हुगो इकिटिक, कोडी गाक्पो, फेडेरिको चिएसा र मोहमद सलाहले एक एक गोल गरेका थिए । यो खेल गत जुलाईमा कार दुर्घटनामा मारिएका लिभरपुल स्ट्राइकर डियोगो जोटा र उनका भाइ आन्द्रे सिल्भालाई भावनात्मक श्रद्धाञ्जली दिएर शुरु गरिएको थियो ।

    १८- अमेरिकाको अलास्कामा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीचको बहुचर्चित शिखर सम्मेलन सकिएको छ ।  रुस र युक्रेनबीचको युद्ध बारे केन्द्रित रहेर भएको यस सम्मेलनमा कुनै ठोस सहमति भने भएको छैन । अलास्काको एल्मेन्डोर्फ-रिचर्डसन सैन्य अड्डामा तीन घण्टाभन्दा बढी समयसम्म भएको कुनै सहमति नभएको ट्रम्पले जानकारी दिएका छन् । बन्द ढोकामा भएको यस बैठकमा ट्रम्पसँगै मार्को रुबियो र विटकफका साथै केही अन्य अधिकारीहरू पनि थिए। रुसी पक्षमा पुटिनसँगै सर्गेई लाभरोभ र अर्थमन्त्री एन्टोन सिलुआनोभ र आर्थिक सल्लाहकार किरिल दिमित्रीभ पनि थिए । यद्यपि, बैठकमा दुवै पक्षबीच कुनै अन्तिम सहमति हुन सकेन । बैठकपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पत्रकार सम्मेलन पनि गरेका छन् तर उनीहरुले पत्रकारहरुको प्रश्न भने लिएनन् । 

    १९- नेपाल आयल निगमले पेट्रोलको मुल्य बढाएको छ भने डिजल र मट्टीतेलको मुल्य घटेको छ । निगमले शुक्रबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य परिवर्तन गरेको हो । जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर २ रुपैयाँ बढेको निगमले जानकारी दिएको छ । त्यस्तै निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ । निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर २.३३ रुपैयाँ बढेर आएको र  डिजलमा १.२७ रुपैयाँ घटेर आएको जानकारी दिएको छ । मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १६१ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ भएको निगमले जनाएको छ ।

    २०- कुवेतमा अति प्रज्वलनशील पदार्थ मेथानोल मिस्रित मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ । नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले अहिलेसम्म १६ नेपालीको मृत्यु भएको जानकारी दिएको छ । अध्यक्ष एकराज मल्ल र सचिव आङकाजी शेर्पाले शुक्रबार विज्ञप्ति जारी गर्दै १६० बढीको स्थानीय अस्पातलको सघन उपचार कक्षमा उपचारत भइरहेको जनाएका छन् । कुवेतस्थित नेपाली दुताबासले ३५ नेपाली मदिरा सेवनबाट अस्पतालमा भर्ना भएको जानकारी प्राप्त भएको बताए पनि मृतकको संख्याको बारेमा स्पष्ट जानकारी दिएको छैन । दुताबासले केहिको गम्भीर अवस्थामा उपचार भइरहेको जानकारी दिएको छ । विषाक्त मदिरा सेवनबाट कुवेतमा हाल १६० भन्दा बढी अस्पतालमा भर्ना भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् भने अहिलेसम्म २३ जनाको मृत्यु भएका छन् । अन्य मृतक कुन देशका हुन भन्ने खुलेको छैन श्रमिकको दुखद् निधन भएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट