बंगलादेश ए ले अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत नेपाललाई १८४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेश ए ले २० ओभरमा ६ विकेट गुमाउदै १८३ रन बनाएको हो ।
बंगलादेश ए का लागि जिशान आलमले सर्बाधिक ७१ रन बनाए भने अफिफ होसैनले अविजित ४८, नैम शेखले २५ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर रिजन ढकालले २ विकेट लिए भने करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।
यस अघि नेपालले खेलेको पहिलो खेल एनटी स्ट्राइकसँग हार बेहोरेको थियो । त्यस्तै बंगलादेश ए टिमले पनि आफ्नो पहिलो खेल पाकिस्तान ए सँग हार बेहोरेको थियो ।
यस खेलमा नेपालले तीन परिवर्तन गरेको छ । शहाब आलम, सोमपाल कामी र रुपेश सिंहको ठाउँमा करण केसी, नन्दन यादव र रिजन ढकाललाई प्लेइङ ११ मा राखेको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल र लोकेस बम रहेका छन् ।