रोमाञ्चक खेलमा राजस्थान रोयल्सविरुद्ध सुपर ओभरमा जित निकाल्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ । बुधबार अरुण जेट्ली रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा आएको दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८८ रनको योगफल खडा गरेको थियो ।
१८९ रनको लक्ष्यसहित मैदान उत्रिएको राजस्थानले २० ओभरमा चार विकेट गुमाएर १८८ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । सुपर ओभरमा राजस्थानले पहिले ब्याटिङ गर्दै ११ रन बनाएको थियो । जसलाई दिल्लीले चार बलमा परा गरेको थियो । प्रतियोगितामा दिल्लीको यो पाँचौँ जित हो ।
सुपर ओभरमा सुरुमा ब्याटिङ गरेको राजस्थानले ५ बलमा नै दुई विकेट गुमाएर ११ रन मात्र जोड्न सक्यो। मिचेल स्टार्कले पहिलो बल डट फ्याकेपछि राजस्थानका सिम्रन हटमायरले दोस्रो बलमा चौका प्रहार गरे। तेस्रो बलमा उनले १ रन जोडेका थिए। त्यसपछि रियान परागले नोबलमा चौका प्रहार गरे। त्यसपछिको बलमा पराग रन आउट भए। अर्को बलमा यशस्वी जयसवाल दोस्रो रन लिने प्रयासमा आउट हुँदा सुपर ओभरमा राजस्थानले मात्र १२ रनको लक्ष्य दिएको थियो।
दिल्लीको सुपर ओभरको जवाफी ब्याटिङमा राजस्थानका सन्दीप शर्माले बलिङ गरे। सुपर ओभरको सुरुवात गरेका दिल्लीका लोकेश राहुलले पहिलो बलमा २, दोस्रोमा चार तथा तेस्रो बलमा १ रन जोडे। त्यसपछि ट्रिस्टीयन स्टब्सले छक्का प्रहार गर्दै जित निश्चित गरे।
यसअघि १८९ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि यसस्वी जयसवाल र कप्तान सञ्जु सामसनले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे। कप्तान सामसनले १९ बलमा ३१ रन प्रहार गरेपछि रिटायर्ड भए। त्यसपछि राजस्थानको रनको गति रोकिएको थियो। जयसवालले ३७ बलमा ५१ तथा नितिस रानाले २८ बलमा ५१ रन जोडे। ध्रुव जुरेलले रन आउट हुनु अघि १७ बलमा २६ रन जोडे।
यसअघि टस हारेर टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेटको क्षतिमा १८८ रन जोडेको थियो। दिल्लीका लागि अभिषेक पोरलेले ४९ रन प्रहार गरे। सुरुमा धिमा गतिमा खेलेको दिल्लीका लागि उत्कृष्ट फिनिसिङ गर्ने क्रममा कप्तान अक्षर पटेलले १४ बलमा ३४ रन जोडे। बलिङमा समेत उनले तीन ओभरमा २३ रन खर्चेर एक विकेट लिए।
जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ६ खेलबाट १० अंक जोडेको छ । तालिकाको आठौँ स्थानमा रहेको राजस्थानको भने यो पाँचौँ हार हो । सात खेल खेल्दा राजस्थानले चार अंकमात्र जोडेको छ ।