अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। नेपाल नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको हो ।
मारारा क्रिकेट मैदान नम्बर–२, डार्विनमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि सुरूवातमा ब्याटिङ गरेको स्ट्राइकले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो ।
आक्रमक सुरूवात गरेको स्ट्राइकका लागि ज्याक वेदरल्डले ११ रन बनाए । कप्तान तथा ओपनर डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय योगदान दिए । कोनर क्यारोल १८, जोर्डन सिल्क १९ र क्याडेल म्याकमोहन १२ रनमा आउट भए । थोमस एन्ड्रयूजले अविजित ३२ रन बनाए ।
नेपालका फास्ट बलरहरू महंगो सावित हुँदा कप्तान रोहित पौडेलले १५ ओभर बलिङ स्पिनरहरूको हातबाट गराएका थिए । नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन दिएर ३ विकेट लिए । शाहब आलमको नाममा २ विकेट रह्यो । रूपेश सिंह, दिपेन्द्रसिंह ऐरी र रोहितले १–१ विकेट बाडे । नेपालले २४ अतिरिक्त रन खर्च गरेको थियो ।
१७८ रनको लक्ष्य सहित जवाफि ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन मात्र बनाउन सक्यो । कुशल भुर्तेललाई ८ रनमा गुमायो । लोकेश बमले रनको खाता खोल्न सकेनन् ।
अर्का ओपनर आसिफ शेखले पनि ११ रन मात्र जोड्न सके । रोहित २३ रन बनाएर केन रिचर्डसनको सिकार भए । कुशल मल्लले सर्वाधिक ३४ रनको योगदान दिए । गुल्सन झाले १० बलमा २६ रनको आक्रमक क्यामियो खेलेपनि जितका लागस पर्याप्त हुन सकेन । १९ रनमा आउट भएका दिपेन्द्रसिंह ऐरीले पुरै इनिङ्सभर संघर्ष गरे ।
स्ट्राइकका लागस म्याट ह्यामन्डले सर्वाधिक ३ विकेट लिए । रिचर्डसन र एन्ड्रयूजको नाममा २–२ विकेट रह्यो । हामिश मार्टिनले १ विकेट हात पारे । स्ट्राइकले सन् २०२३ मा भएको सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो भने गत वर्ष सेमिफाइनलसम्म पुगेको थियो ।
नेपालले आफ्नो दोस्रो खेलमा भोली बंगलादेश ‘ए’ विरूद्ध खेल्नेछ भने तेस्रो खेल भदौ २ गते मेलबर्न स्टार्स, चौथो खेल भदौ ३ गते होबर्ट हुरिकेन्स, पाँचौँ खेल भदौ ४ गते मेलबर्नविरूद्ध र अन्तिम खेल भदौ ६ गते पाकिस्तान साहिन्सविरूद्ध हुनेछ ।