अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको तेस्रो खेलमा नेपालले जितको लागि १७६ रनको लक्ष्य पाएको छ । डार्विनस्थित टिआइओ रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई जितको लागि १७६ रनको लक्ष्य दिएको हो ।
मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७५ रनको योगफल बनायो। मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए । त्यस्तै थोमस रोजर्सले ६५ रन जोडे। नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने सोमपाल कामी र शाहब आलमले समान एक एक विकेट लिए। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।
सिरिजका अघिल्ला दुई खेलमा लगातार हार व्यहोरेको नेपाल आज पहिलो जित निकाल्ने कोशिसमा छ । सिरिजको पहिलो खेलमा नेपाल एनटीएससँग ४२ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने बंगलादेश ए टोलीसँग ३२ रनले हार भोगेको थियो । लगातार दुई खेलमा हार भोगेको नेपाल अंकविहिन रुपमा तालिकाको १० औँ स्थानमा छ।
एक खेलमा जित र एक खेलमा हार भोगेको मेलवर्न २ अंकमा तालिकाको छैटौँ स्थानमा छ । नेपालले मंगलबार होवर्ट हुरिकेन्स एकेडेमीविरुद्ध खेल्ने तालिका छ । नेपालले सिरिजमा ६ खेल खेल्नेछ। नेपालले जारी सिरिजलाई टी २० विश्वकपको तयारीका रुपमा लिएको छ ।
आसिफको अर्धशतक
नेपालका ओपनर ब्याटर आसिफ शेखले टप एण्ड टी २० सिरिजमा मेलवर्न स्टार्सविरुद्ध अर्धशतक पूरा गरेका छन् । उनले ४८ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।
शेखले ४८ बलमा ५३ रन बनाउँदै क्रिजमा खेलिरहेका छन् । उनले १४.६ ओभरमा चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् ।