यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल खेल आज हुदैछ । फाइनलमा अहिलेसम्म उपाधि नजितेका रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाब किंग्स पुगेका छन् । अहमदावादमा हुने यो फाइनल आज राति नेपाली समय अनुसार ७: ४५ बजेदेखि शुरु हुदैछ ।
रोयल च्यालेन्जर्स बैंगलुरु योसहित चौथो पटक आइपिएलको फाइनल खेल्दैछ । यस अघि २००९, २०११ र २०१६ मा उपविजेता बनेको बैंगलुरुलाई यस पटक पहिलो उपाधि जित्ने अवसर रहेको छ । त्यस्तै पञ्जाब भने दोस्रो पटक आइपिएलको फाइनल खेल्दैछ । यस अघि पञ्जाब २०१४ बमा उपविजेता बनेको थियो ।
रोयल च्यालेन्जर्स ९ वर्षपछि र पञ्जाब किंग्स ११ वर्षपछि फाइनलमा पुगेका छन् । अब यस पटक कम्तिमा एक टिमले पहिलो पटक उपाधि जितेर इतिहास बनाउने तयारीमा छन् ।
रोयल च्यालेन्जर्सका लागि फाइनलमा विराट कोहलीको प्रदर्शन महत्वपूर्ण हुने छ । यस सिजनमा कोहलीले १४ खेलमा ६१४ रन बनाएका छन्, जसमा उनको औसत ५५.८२ र स्ट्राइक रेट १४६.५४ रहेको छ । उनले ८ अर्धशतक प्रहार गरेका छन् । यस वर्षको आईपीएलमा, विराट कोहलीले पञ्जाब किंग्स विरुद्ध ३ इनिङमा कुल ८६ रन बनाएका छन्, जसमा उनको औसत ४३ र स्ट्राइक रेट १२४.६३ रहेको छ । पञ्जाब विरुद्धको उनको २० अप्रिलमा खेलिएको खेलमा कोहलीले ५४ बलमा अविजित ७३ रन बनाएका थिए ।
अर्को तर्फ पञ्जाब किंग्सका कप्तान श्रेयस अय्यरको भूमिका पनि फाइनलमा महत्वपूर्ण हुने छ । उनले आफूलाई उत्कृष्ट ब्याट्सम्यानको रुपमा मात्र होइन रणनीतिक र भरपर्दो लिडरको रूपमा स्थापित गरेका छन् । उनले पछिल्लो ५ वर्षमा तेस्रो फ्रान्चाइजीलाई फाइनलमा पुर्याएका छन् । श्रेयस अय्यरले आईपीएलमा तीन फरक टोलीको फाइनलमा नेतृत्व गरेका छन् । पहिलो पटक २०२० मा दिल्ली क्यापिटल्सलाई पहिलो पटक फाइनलमा पुर्याएका थिए, त्यसपछि २०२४ मा कोलकाता नाइट राइडर्सको कप्तानी गरे र उपाधि जिताए र २०२५ मा ११ वर्षपछि पञ्जाब किंग्सलाई फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । उनको कप्तानीमा यी उपलब्धिहरू आईपीएल इतिहासमा विशेष स्थान राख्छन् ।
अय्यरको कप्तानीमा, पञ्जाबले सिजनभरि उत्कृष्ट स्थिरता देखाएको छ र ११ वर्षपछि फाइनलमा पुगेको छ । बलरहरूको स्मार्ट प्रयोग, ब्याटिङ क्रममा निर्णायक इनिङ र मैदानमा उनको शान्त दिमागले पञ्जाबलाई सन्तुलन र सफलता दिलाएका छन् ।
कोलकाता नाइट राइडर्सले २०२५ को मेगा लिलामी अघि श्रेयसलाई रिलिज गरको थियो । उनलाई पञ्जाबले २६.७५ करोड भारुमा किनेको थियो, जसले गर्दा उनी आईपीएल इतिहासको दोस्रो सबैभन्दा महँगो खेलाडी बने । पञ्जाब किंग्सले १८ सिजनमा १७ फरक कप्तानहरू प्रयोग गरेको छ, तर अय्यरले पहिलो सिजनमै टोलीलाई स्थिरता र विजयी मानसिकता दिए । उनले ११ वर्षपछि पञ्जाबलाई प्लेअफमा पुर्याउने मात्र होइन, टोलीलाई सिधै फाइनलमा पनि पुर्याएर आफुमाथि पञ्जाबले गरेको खर्चलाई न्याय गरेका छन् ।
एक ब्याट्सम्यानको रूपमा, उनले शीर्ष क्रममा खेल्दा ६०३ रन बनाएका छन्, जसमा ६ अर्धशतक पनि समावेश छन् ।