नेपाल चिकित्सक संघ र सरकारबीच तीन बुँदे सहमति भएको छ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्यास सम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै चिकित्सकहरू सोमबारदेखि आन्दोलित थिए ।
सेवा नै ठप्प पारेर चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि सरकारले आज मंगलबार साँझ सरोकारवालाहरूलाई बोलाएर वार्ता गरेको थियो । वार्तापछि चिकित्सकहरू आन्दोलन स्थगित गर्न सहमत भएका हुन् । सहमति अनुसार, विद्यमान कानूनी एवं नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा ७ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्नेगरी ३ सदस्यीय कार्यदल गठन भएको छ । उपभोक्ता ऐन र मुलुकी ऐन फौजदारीको संशोधन गर्नुपर्ने लगायतका माग राखेको चिकित्सकहरूले राखेका थिए ।
केही सातायता उपभोक्ता अदालतले उपचारमा लापरबाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो । उक्त फैसलामा असन्तुष्टि जनाउँदै चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए ।