डेंगु संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । टेकु अस्पतालमा आईसीयूमा उपचारत एक २४ वर्षीया युवतीको मृत्यु भएको हो । डेंगु संक्रमित उनी मंगलबार बेलुका अस्पतालमा भर्ना भएकी थिइन् ।
अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल चालिसेका अनुसार अस्पताल आउँदा नै उनको अवस्था जटिल थियो । ‘आईसीयूमा राखेर उपचार गरियो, तर भोलिपल्ट बुधबार बिहान उनको मृत्यु भयो,’ डा. चालिसेले सुनाए ।
यस वर्ष डेंगुबाट मृत्यु भएको यो पहिलो केश हो । यस वर्ष हालसम्म २,९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्ता मात्र १८० नयाँ संक्रमित थपिएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार बागमती प्रदेशमा २९८, कोशीमा ४७, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवन आएका एक विदेशी नागरिकमा भेटिएको थियो । त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । २०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो ।