बूढानीलकण्ठको रुद्रेश्वर चोकबाट आधा किलोमिटरजति पूर्व जानासाथ हरियो जङ्गल अनि अग्लो पहाड देखिन्छ । हावा एकाएक चिसिन्छ । चराचुरुङ्गीको चिरबिरचिरबिर आवाजले मन चङ्गा पारिदिन्छ । काठमाडौँको कोलाहलबाट एक्कासी कतै टाढा उक्लेजस्तो भान हुन्छ ।
सोही ठाउँ अर्थात बूढानीलकण्ठ–१, इशान कोलोनीमा धेरै घरहरू छन्, तीमध्ये एक घर बरिष्ठ फोटो पत्रकार मीनरत्न वज्राचार्यको हो । उनको घरवरिपरि हरियाली छ । घरभित्र पनि गमलामा हरिया बोटबिरुवा सजाइएका छन् । वरिष्ठ फोटो पत्रकार वज्राचार्यसँग विश्व फोटोग्राफी दिवसको अवसरमा गरेको संवादमा उनले आफ्नो सुरुवाती दिनदेखि नै आफ्नो हरेक अनुभवहरू सुनाए ।
सत्य कुरा के हो भने फोटो पत्रकारिताको संसारमा एक सशक्त नाम हो-मीनरत्न वज्राचार्य । उनले जीवनको हरेक मोडमा सङ्घर्षलाई अङ्गालेर एउटा साधकको रूपमा क्यामेरालाई अपनाए, अनि समाज, समय र सत्ता तीनवटैलाई फ्रेममा कैद गरे ।
कुराकानीका क्रममा उनले आफ्ना जीवनका अनेक अनुभवहरू बाँडे, जुन केवल तस्विरकै होइन, दर्शन, राजनीति, संस्कार र सङ्घर्षको कथाले भरिएको छ ।
मीनरत्नको फोटोग्राफी यात्रा २०३६ सालमा सुरु भयो । त्यो समय उनी क्यामेरासँग मात्र होइन, विचारसँग पनि संघर्षरत थिए । काठमाडौँ उपत्यकाका साँघुरा गल्ली, आन्दोलनका हुँकार, जनताका अनुहार र देशको बदलिँदो राजनीतिक दृश्यपटल उनका लागि क्यानभासजस्तै बने । उनी भन्छन्, “फोटो भनेको केवल दृश्य होइन, त्यो त घटनाको जीवित दस्तावेज हो ।”
उनको करिअरको महत्त्वपूर्ण मोड थियो, जनआन्दोलन २०४६ । त्यो समय उनले खिचेका तस्विरहरूले देशको राजनीतिक रूपान्तरणमा प्रत्यक्ष प्रभाव पारे । “त्यो आन्दोलनको हर एक फ्रेम आज पनि बोल्छ,” उनी सम्झिन्छन् । “कयौँपल्ट ढुङ्गा र गोलीबीच उभिएर मैले फोटो खिचें, डर लाग्थ्यो तर कर्तव्य ठूलो हुन्थ्यो ।”
४० को दशकतिरको कुरा हो । स्वीट्जरल्याण्डका विख्यात भू–गर्भशास्त्री डा. टोनी हेगन नेपाललाई खुबै माया गर्थे । २४ अक्टोबर १९५० मा पहिलोपल्ट नेपाल आएका उनले संसारलाई ‘सगरमाथा नेपालमा छ’ भनेर सुनाएका थिए ।
१८ अप्रिल २००३ मा हेगन बिते । त्यसको वर्ष दिनपछि हेगनकी छोरी क्याट्रिनले नेपाल आएर सिधै मीनरत्नलाई भेटिन् । “मीन, माइ फादर लेफ्ट फर यु सेइङ द्याट– मेन्टेनिङ टोनी हेगन्स लिगेसी, दिस इज फर यु !” अल्पा नामको क्यामेरा आफूलाई थमाउँदै क्याट्रिनले भनेका कुरा मीनरत्नले बिर्सेका छैनन् । टोनी हेगन फोटोग्राफर पनि थिए । उनले त्यसबेला नेपाल र यहाँको जनजीवन दर्शाउने थुप्रै फोटो सोही क्यामेराबाट खिचेका थिए ।
मीनरत्नले टोनी हेगनलाई सन् १९९१ मा पहिलोपल्ट भेटेका रहेछन् । उनीहरूको भेट पनि कम रोचक छैन । अनि एकाएक बढेको दोस्ती झनै लोभलाग्दो । यसैगरी अस्ट्रेलियामा आफ्नो जन्मदिनमा मीनले पाएका थिए गिफ्ट एक सानो मिनोल्टा क्यामेरा । त्यो एउटा साधारण उपहारले मीनरत्नलाई फोटोग्राफीप्रति गहिरो लगाव दिलायो । उनले सिड्नीको हभर ब्रिजदेखि अस्ट्रेलियन जीवनशैलीसम्मलाई तस्विरमा उतार्न थाले ।
त्यहाँबाट फर्किएपछि नेपालको मठमन्दिर, जात्रैजात्रा, जनजीवन उनका फ्रेममा समाउन थाले । मीनरत्नको बाल्यकाल संर्घषमै बित्यो । बुबा एक शिक्षक-परोपकार स्कुलका हेडमास्टर र समाजसेवी पनि थिए । परिवारको आर्थिक अवस्था मजबुत थिएन । बाल्यकालमै प्रेसमा काम गर्नु, टेलरिङ सिक्नु, अनि जाइकाको फेशन डिजाइन तालिममार्फत जीवन अघि बढाउनु उनको बाध्यता मात्रै थिएन, सपना पनि थियो । पढाइसँगै पेशा मिलाएर अघि बढ्दा उनले सिके – “सीप भए जिन्दगीमा दुई छाक जोड्न गाह्रो हुँदैन ।”
१९८५ मा नेभी क्याप्टेन लेन पाउन्डटनको निम्तोमा अस्ट्रेलिया पुगेका मीनरत्नले सेन्ट भिन्सेन्ट क्यान्सर रिलिफ संस्थादेखि लिएर लेगेसी नामको वेलफेयर संस्थासम्मको काम नजिकबाट हेरे ।
अस्ट्रेलियामा उनका साथीको बृद्ध पिताको हेरचाह गर्नु, पार्कमा टहलाउने, अनि इङ्ग्लिस सिक्दै जीवनशैली बुझ्ने अवसर पाएका उनले भने, “त्यहाँ मैले फोटो खिच्न थाल्दा मानिसहरूले भने, ‘तिमी साँचै फोटोग्राफीक आइकन भएको मान्छे हौँ ।”
यसैको फलस्वरूप आफूले फर्किएर नेपालमा फोटो पत्रकारितालाई जीवन बनाउने निधो गरेको उनले बताए । १० सेप्टेम्बर १९८५, हङकङ-त्यही दिन मीनरत्नले अस्ट्रेलियाबाट फर्किने क्रममा राजा वीरेन्द्रलाई आकस्मिक भेटे । पेनिनसुला होटल अगाडि टहलिरहेका राजा वीरेन्द्रसँग उनले आत्मविश्वासका साथ अंग्रेजीमा संवाद गरे ।
आफ्ना अस्ट्रेलियन साथी पाउन्डटनलाई चिनाए । राजा वीरेन्द्रले हात मिलाउँदै भने, ‘यू ह्याभ विन भेरी काइन्ड टु वन अफ माइ सिटिजन्स’ त्यो क्षण नेपाली पत्रकारिता इतिहासको एउटा अद्वितीय झलक थियो ।
प्रजातन्त्रपछिको नेपालमा फोटोग्राफरहरूको संस्थागत विकास हुँदै गयो । मीनरत्न राष्ट्रिय फोटो पत्रकार समूहको दुई कार्यकाल अध्यक्ष भए । तेस्रो कार्यकाल भने युवालाई अवसर दिन छाडे । आफ्नो नेतृत्वमा उनले सार्क फोटोग्राफी एक्सचेन्ज, फोटो प्रदर्शनी, फोटोग्राफी दिवसजस्ता कार्यक्रमहरू अगाडि सारे ।
बाल्यकालमा प्रेस, टेलरिङ, घरेलु सीप, जापानी सहयोगमा भएको डिजाइन तालिम-यी सबैले उनलाई बहुआयामिक बनाए । उनले लुगा काट्नदेखि फोटो काट्नसम्मको यात्रा त्यतिखेर सुरू गरे, जब समाजले “काम गराउने ?” भनेर आमालाई प्रश्न गथ्र्यो, अनि आमाले भनेकी थिइन् “बाबु, छोड, पढ ।” त्यहीँ पढाइले उनलाई फोटोपत्रकार बनायो ।
मीनरत्नको बुझाइमा राम्रो तस्विर खिच्न लेन्सभन्दा सेन्स महत्त्वपूर्ण हुन्छ । भन्छन्, “महङ्गो क्यामेरा, महङ्गो लेन्स भयो भने राम्रो फोटो खिच्न सकिन्छ भन्ने भ्रम कतिपयमा हुनसक्छ । उपयुक्त मुभ्मेन्ट र भिजन महत्त्वपूर्ण कुरा हो । ठीकठीकै क्यामेराबाट पनि उत्कृष्ट तस्विर निकाल्न सकिन्छ । यसका लागि लेन्सभन्दा सेन्स राम्रो चाहिन्छ ।” मीनरत्नले नजिकबाट देखेका छन् राज शाहीदेखि गणतन्त्रसम्मका परिवर्तनहरू ।
उनले न केवल राजनीतिक घटनाहरू समेटे तर समाजका संवेदनशील पक्षहरू – गरिबी, जातीय भेदभाव, धार्मिक र सांस्कृतिक विविधता आदी सबैलाई आफ्नो क्यामेराको माध्यमबाट बोले । उनका अनुसार, “तस्विरमार्फत सत्य देखाउनु हरेक पत्रकारको धर्म हो ।” प्रविधिको परिवर्तनले पत्रकारिता र फोटो पत्रकारिता दुवैलाई फरक मोडमा ल्याएको उनी मान्छन् ।
“पहिले फिल्म रोल हुन्थ्यो, अहिले डिजिटल क्यामेरा । तर दृष्टिकोण, दृष्टि र मूल्य मान्यता उस्तै छन् ।” उनी युवा फोटो पत्रकारहरूलाई सुझाव दिन्छन्, “तपाईँको फोटोले यदि बोल्दैन भने, त्यो फोटो होइन, केवल तस्विर हो ।”
मीनरत्न अहिले पनि सक्रिय छन् । समाज र देशका कथाहरू उनी अझै क्यामेरामार्फत कैद गरिरहेका छन् । “जबसम्म आँखाले देख्छ र मुटुले महसुस गर्छ, तबसम्म फोटो खिच्ने चाहना मरेको छैन,” उनी भन्छन् ।
पहिलो पटक क्यामेरा उनले अस्ट्रेलियामा सन् १९८५ मा छोए । नेपालमा चिनजान भएका अस्ट्रेलियन साथीले घुमाउन अस्ट्रेलिया लैजाँदा त्यहाँका दृश्य कैद गर्न उनले क्यामेरा चलाउन पाएका थिए । खासै क्यामेराको ज्ञान नभएका वज्राचार्यलाई उनै साथीले घुम्न जाँदा फोटो कसरी खिच्ने सिकाएका थिए ।
२०४२ सालमा नेपाल फर्किएका वज्राचार्य तिनै क्यामेरा र त्यसबाट लिइएको अस्ट्रेलियाका विभिन्न स्थानका दृश्यलाई साथीमाझ देखाउँथे । स्मृतिका पाना पल्टाउँदै उनी भन्छन्, “त्यतिखेर क्यामेरा चलाउने त ठुलै मान्छेजस्तो मानिन्थ्यो । त्यसैले त्यो फोटो कतिले त पैसा दिएर पनि लगे ।”
सानैमा आमाबुबा गुमाएका वज्राचार्य हातमुख जोर्नकै लागि नजिकै रहेको एउटा टेलरमा सिलाइ कटाइको काम गर्थे । बिहान क्याम्पस, दिउँसो टेलर र टेलरबाट हप्ताको पैसा आउनेबित्तिकै त्यही क्यामेराका साथमा भेटिन्थे कहिले चोभारमा त कहिले स्वयम्भूतिर ।
जानी–नजानी वनपाखा चराचुरूङ्गीको फोटो खिच्दाखिच्दै कहिले नेपालकै आइकोनिक फोटोग्राफर बने उनलाई पत्तै भएन । क्यामेरा हातमा र चलाउने ज्ञान दुवै भएपछि एक मित्रले फोटो खिच्न सक्छौँ भन्ने प्रश्नसहितको आग्रहले आफूलाई नेपालकै अब्बल फोटोग्राफरको रूपमा उभ्याएको वज्राचार्य बताउँछन् ।
भन्छन्, “सन् १९८७ मा पत्रकार पदम ठकुराठी गोलीकाण्डमा एक जना मित्रले पक्राउ परेका अभियुक्तको फोटो ल्याउन सक्छाँै भनेर सोधे । क्यामेरा हातमा छ सक्दिनँ किन भन्ने भनेर फोटो खिच्न तम्सिएँ । राम्रै फोटो ल्याएँछु । भोलिपल्ट पो थाहा पाएँ– त्यो फोटो त अंग्रेजी पत्रिका ‘द कमनर’ले आफ्नो मुख्य पृष्ठमा नै छापेको रहेछ मेरो नामसहित । फोटो र नाम देखेपछि पो दङ्ग परेँ, अहो म त पत्रकार पो भएछु !”
सन् १९८७ बाट फोटो पत्रकारिता सुरु गरेका उनले त्यसपछि त्यसताकाको लोकप्रिय पत्रिका ‘विमर्श’मा व्यावसायिक फोटो पत्रकारको रूपमा काम सुरु गरे ।
जहाँबाट उनले ०४४ सालको आँधीबेहरीका कारण रङ्गशालामा थुप्रिएका लास, २०४५÷०४६ को बृहत् जनआन्दोलन, २०६२÷०६३ को आन्दोलनलगायतका घटनाको तस्विर उतारे । तस्वीर मात्रै उतारेनन्, उनले फोटोबाट घटना र कथालाई पनि उतारे । अझ भनौँ, हजार शब्दमा व्यक्त गर्न नसक्ने कथालाई उनले एउटै फोटोले व्यक्त गर्न सके ।
यसैगरी वज्राचार्यले नयाँ पुस्ताका फोटो पत्रकार तथा फोटोग्राफरहरूलाई समयको महत्त्व बुझ्न आग्रह गरेका छन् । फोटो पत्रकारिता एउटा द्रुत गतिमा बदलिँदो क्षेत्र भएको उल्लेख गर्दै उनले कुनै पनि कार्यक्रम वा घटना कभर गर्न जानुअघि पूर्वतयारी आवश्यक पर्नेमा जोड दिए ।
“हामी फोटो जर्नालिस्ट भएपछि, सकभर समयभन्दा अगाडि पुगेर वातावरण बुझ्नुपर्छ,” वज्राचार्यले भने, “घन्टौँ अगाडि गएर एट्मोसफेयर रिड गर्न सके, कुन कोण (एंगल) बाट राम्रो फोटो आउँछ भनेर पहिल्यै थाहा हुन्छ ।”
उनका अनुसार, घटनास्थलमा कम्तीमा पनि १५–२० मिनेट अगाडि पुग्नसके राम्रो हुने र त्यसले रिपोर्टिङको गुणस्तरमा सकारात्मक प्रभाव पार्ने समेत बताए ।
हालको प्रविधिमैत्री तर छरितो वातावरणले गर्दा कतिपय फोटो पत्रकार ढिलाई हुने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, “११ बजे कार्यक्रम छ भनिएको छ भने कोही कोही त त्यसैमा ढिला हुने गर्छन् । नेताजीहरू आफैँ पनि ११ बजे चिफ गेस्ट भनेर बोलाइएका कार्यक्रममा २ बजे आइपुग्छन् ।”
उनका अनुसार, यस्ता प्रवृत्तिले फोटो पत्रकारहरूको समयप्रतिको दृष्टिकोण पनि असरमा परेको हुनसक्छ । “हामी फोटो पत्रकारले समयको मूल्य अझ राम्रोसँग बुझ्नुपर्छ,” उनले भने ।
वज्राचार्यले अनुभवका आधारमा नयाँ पुस्तालाई यस्ता सल्लाह र सुझाव दिइरहनु आवश्यक रहेको बताएका छन् । उनका अनुसार, योजनाबद्ध कार्यशैली र समयपालनाले मात्र फोटो पत्रकारिताको स्तर उकास्न सकिन्छ ।
मीनरत्न वज्राचार्य फोटो पत्रकार मात्र होइनन् । उनी जीवनको सौन्दर्य, संघर्ष, सन्देश सबैलाई एउटै फ्रेममा उतार्न सक्ने दृष्टिवान् व्यक्ति हुन् । उनी भन्छन्, “फोटो पत्रकारिता केवल पेशा होइन, यो समाजलाई साक्षी राख्ने माध्यम हो ।” आज पनि उनले हरेक जात्रा, मठमन्दिर, जनआन्दोलन, दैनिकी र परिवर्तनलाई समेटिरहेका छन् क्यामेराको आँखा भएर ।
यसैगरी फोटो पत्रकारिता मात्र नभएर जुनसुकै पेसामा प्रभावशाली बन्न इच्छाशक्ति र निरन्तर प्रयास आवश्यक पर्ने उनी बताउँछन् । उनले खिचेका तस्विरहरू अमेरिका, फ्रान्स, जर्मनी, भारतलगायतका देशका अखबारले समेत छापेका छन् । आफ्नो कामका लागि उनले थुप्रै सम्मान समेत पाएका छन् ।
भिडियोमा हेर्नुहोस् कुराकानी -