भारतका विदेशसचिव विक्रम मिश्रीले आफ्नो देश र पाकिस्तानले युद्धविराममा सहमति जनाएको पुष्टि गरेका छन् । स्थानीय समयानुसार शनिबार (मे १०) साँझ ५ बजेदेखि युद्धविराममा सहमति लागु भइसकेको छ ।
उनका अनुसार, पाकिस्तानका सैन्य अपरेसन महानिर्देशक (डीजीएमओ)ले स्थानीय समयानुसार शनिबार दिउँसो आफ्नो भारतीय समकक्षीसँग फोनवार्ता गरेका थिए । त्यसक्रममा भारतीय समयानुसार साँझ ५ बजेदेखि दुवै पक्षले ‘सबै गोलाबारी र सैन्य कारबाही रोक्ने’ सहमति भएको थियो ।
दुई देशका महानिर्देशकले सोमबार फेरि छलफल गर्ने तय भएको उनले पत्रकार सम्मेलनक्रममा बताएका सीएनएनले जनाएको छ । यसअघि, पाकिस्तानका विदेशमन्त्रीले दुवै देश युद्धविराम गर्न सहमत भएका बताएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराममा सहमत भएका घोषणा गरेका थिए ।
पाकिस्तानसित युद्धविराम सम्झौताको घोषणापछि भारतीय सेनाले त्यसबारे प्रतिक्रिया जनाएको छ । युद्धविराम सम्झौता घोषणाको केही समयपछि भारतको रक्षा मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा भारतीय सेनाका अधिकारी कमोडोर आर रघु नायरले भने, “सेना युद्धविराम सम्झौताको पालना गर्नेछ, तर सेना भारतको सार्वभौमसत्ता कायम राख्न सतर्क रहनेछ ।”
यस्तै, विङ कमान्डर व्योमिका सिंहले पाकिस्तानले भ्रामक प्रचार अभियान चलाउन धेरै प्रयास गरेको बताइन् ।उनले भारतीय सेनाले आक्रमणक्रममा मस्जिदलाई निसाना बनाएको भन्ने पाकिस्तानको आरोप अस्वीकार गरिन् । उनले भनिन्, “हामी सबै धर्मका धार्मिकस्थलहरूको सम्मान गर्छौं ।”
उनले अगाडि भनिन्, “आफ्नो कारबाहीमा सेनाले ती ठाउँलाई निसाना बनायो, जुन आतंकवादी शिविर थिए वा ती ठाउँ जुन भारतविरोधी गतिविधिका निम्ति प्रयोग गरिँदै थियो । म भन्न चाहन्छु कि भारतीय सशस्त्र बलले कुनै पनि धार्मिकस्थललाई निसाना बनाएको छैन ।”