भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले तीनकुने घटनामा मृत्यु भएका एभिन्युज टीभीका पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन् ।
उनले बुधबार बिहान कोटेश्वर भाटभटेनी परिसरमा एक कार्यक्रम गर्दै यस्तो घोषणा गरेका हुन् । रजकको परिवारलाई पाँचलाख र महर्जनको परिवारलाई तीनलाख रुपैयाँ सहयोग गर्ने बताए । उनले चैत १५ गते भएको प्रदर्शनका बेला भाटभटेनी सुपरमार्केटे्सको कोटेश्वर स्टोर्समा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । बुधबार भएको कार्यक्रममा भाटभटेनीले तोडफोडका बेलामा उच्छृङ्खल गतिविधि रोक्ने सुरक्षा गार्ड, निर्माण कार्यमा संलग्न कर्मचारीलगायतले नगदसहित सम्मान गरेको छ ।
यो पनि पढ्नुहोस् - भाटभटेनीका बहादुर सुरक्षा गार्ड पराजुली ५ लाख नगदसहित पुरस्कृत, पाँच ग्रेड बढुवा
भाटभटेनीमा लुटपाट गरेर राजसंस्था फर्किन्छ ?
भाटभटेनी सुपर मार्केटका सञ्चालक तथा अध्यक्ष मीनबहादुर गुरुङले राजासंस्था फर्काउने आन्दोलनका कमाण्डर बनाइएका दुर्गा प्रसाईँलाई गुण्डानाइकेको संज्ञा दिएका छन् । गुरुङले प्रसाइँलाई राज्यले पुलपुल्याउँदा अहिले वितण्डा निम्तिएको दावी गरे । बुधबार भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गरेपछि अध्यक्ष गुरुङले भने, ‘हामीले वर्षेनी ट्याक्स तिर्छौँ सरकारलाई । हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ ? हाम्रा दशौँ हजार भाइबहिनीको सुरक्षा खोइ ? दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ ?’
उनले राज्यले एउटा डनलाई पुल्पल्याएर राखेको हुँदा यो परिणाम आएको बताए । प्रसाइँको क्रियाकलापले राजसंस्था नआउने गुरुङले ठोकुवा गरे । उनले भने, ‘मारवाडीले यस्तो गर्यो, त्यस्तो गर्यो भन्दै हिँड्छ । मारवाडी देशको नागरिक होइन ? मारवाडी भगाउन सम्भव छ ? देश कंगाल बनाउने ? दुर्गा प्रसाईँ गुण्डा नाइके हो । राज्यले पुलपुल्याउँदा आज यो परिणाम देखियो । उसको क्रियाले राजसंस्था फर्किँदैन, म ठोकुवा दिएर भन्छु । भाटभटेनीलाई लुटपाट गरेर राजसंस्था फर्किन्छ ? भाटभटेनीमा ढुंगा हानेर नेपालको संविधान संविधान मेटिन्छ ? हामी बुझ्दैनौँ ? यो सबै डकैत हो ।’
चैत १५ गते शुक्रबार दुर्गा प्रसाइँको कमाण्डिङमा राजावादी समूहको प्रदर्शनका क्रममा कोटेश्वरस्थित सुपर मार्केटमा प्रदर्शनकारीले तोडफोड र लुटपाट मच्चाएका थिए । प्रदर्शनकारीबाट तोडफोड र लुटपाटबाट ८० लाख रुपैयाँ बराबरको क्षति भएको भाटभटेनीले जनाएको छ ।