भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले काठमाडौंस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक विशेष समारोहबीच नेपाली सेनालाई विभिन्न सामग्री हस्तान्तरण गरेका छन् ।
सो अवसरमा मिस्रीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई लाइट स्ट्राइक वाहन, क्रिटिकल केयर मेडिकल उपकरण तथा सैन्य प्रयोजनका जनावर औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । उनले नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल उपहार दिएका छन् ।
नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर उनले ‘लाइट स्ट्राइकिङ भेइकल’ दिएका हुन् । जंगीअड्डाका एक उच्च सैनिक अधिकृतका अनुसार, सैन्य सामग्री हस्तान्तरण गर्ने केही अगाडिदेखि नै तयारी थियो । विदेशसचिव आएको सन्दर्भमा उनी आफैं जंगी अड्डामा पुगेर हस्तान्तरण गरेका हुन् ।
स्रोतका अनुसार, ब्रिडिङ प्रयोजनका लागि २ वटा सैनिक कुकुर समेत उनले हस्तान्तरण गरेका छन् । सोही अवसरमा विदेशसचिव मिश्रीले ६ वटा सैनिक घोडा पनि दिएको ती अधिकृतले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आइतबार विदेशसचिव मिस्री काठमाडौं आएका थिए । आइतबारै उनले प्रधानमन्त्री ओली, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरिसकेका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि हिजै उनको भेट भयो ।
यस किसिमको सहयोगले दुई देशका सेनाबीचको घनिष्ठ सम्बन्ध र मजबुत रक्षा सहकार्यलाई प्रतिविम्बित गर्ने जनाइएको छ । परराष्ट्र सचिव मिस्रीका अनुसार, यो साझेदारीले दुवै सेनाबीचको विश्वास र दीर्घकालीन मित्रताको आत्मालाई प्रकट गर्ने कार्य गरेको छ । नेपाली सेनाले पनि यस सहयोगलाई स्वागत गर्दै भविष्यमा अझै प्रभावकारी सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । सचिव मिश्री आइतबार नेपाल भ्रमणमा आइपुगेका हुन् ।