कात्तिक १७ मा हुने रुपन्देही–३ को उपनिर्वाचनमा अधिवक्ता ओमप्रकाश अर्यालले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।
आफ्नो उम्मेदवारीलाई अन्तिम रूप दिन अर्याल तीव्र लबिङमा जुटिरहेको उनी निकट बताउँछन् । गुल्मीमा जन्मेका अर्याल पछि बुटवल बसाइँ सरेका थिए । उनी हाल ललितपुरमा बस्दै आएका छन् ।
अर्याल उम्मेदवार बनेर मैदानमा उत्रिने तयारीले रुपन्देहीको चुनाव थप रोचक हुने देखिएको छ । उनी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका कानुनी सल्लाहकार हुन् । महानगरविरुद्धका मुद्दाहरूमा अर्यालले कानुनी र रणनीतिक सल्लाह दिंदै आएका थिए ।
चुनावकै लागि उनी केही समयअघि नै उक्त जिम्मेवारीबाट अलग भइसकेका छन् । सार्वजनिक सम्पत्ति संरक्षण जगेर्नामा अर्याल विगतदेखि नै सक्रिय छन् ।
अर्यालले कुनै पनि राजनीतिक दलहरूको समर्थन बिना चुनावमा प्रतिस्पर्धा गर्न लागेका हुन् । उनले रुपन्देहीको चुनावलाई प्रभावमा पार्न सक्ने काठमाडौंका प्रभावशाली व्यक्तिहरूसँगको भेटघाट तीव्र पारिरहेका छन् भने उक्त क्षेत्रका मतदाताहरूसँग पनि प्रतिक्रिया लिइरहेका छन् ।
‘अन्डर डिस्कसन चाहिँ हो । समय र परिस्थितिको मूल्यांकन गर्दैछु, राय सुझाव सल्लाहका लागि अहिले खुला छु,’ अर्यालले भने, ‘समय आएपछि निर्णय पनि दिनुपर्ला ।’
यसअघि बालेनकै सल्लाहकार सन्तोष गिरी उम्मेदारका लागि मैदानमा उत्रिसकेका छन् । गिरीले एक महिनाअघिबाटै तयारी गरिरहेका बेला अर्यालको कसरतले बालेनका समर्थक अन्यौलमा परेका छन् । गिरी रुपन्देही ३ कै स्थानीय हुन् भने अर्याल गुल्मीबाट बुटवल हुँदै अहिले काठमाडौमा बस्दै आएका छन् ।
रुपन्देही– ३ बाट निर्वाचित सांसद दीपक बोहराको गत १९ चैतमा काठमाडौंस्थित ओम अस्पतालमा निधन भएको थियो। उनी चुनावअघिदेखि नै पोस्ट–कोभिड संक्रमणले थला परेका थिए । रुपन्देही– ३ मा नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपालगायत दलहरूले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।
एमालेले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने पक्कापक्की जस्तै भएको नेताहरूले जानकारी दिएका छन् । त्यस्तै, नेपाली कांग्रेसले उम्मेदवार चयनको प्रक्रिया अघि बढाएको छ भने रास्वपा पनि उम्मेदवार छनोटको प्रक्रियामा छ ।