पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । संसद विघटनसहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले रिट दायर गरेका हुन् ।
पूर्णपाठ तयार भएको र अरु न्यायाधीशहरूले सही गरिसकेको फैसलामा तत्कालीन प्रधानन्यायाधीश जबराले हस्ताक्षर नगरेर न्यायमा अवरोध गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् । अधिवक्ता न्यौपानेले भने, ‘मैले रिट निवेदन पेश गरेको तीन दिन भयो, न दर्ता हुन्छ, न त दर्ता गर्न अस्वीकार गरेको आदेश (दरपीठ) नै हुन्छ ।’
सर्वोच्च अदालत प्रशासन र तत्कालीन प्रधानन्यायाधीश जबरालाई विपक्षी बनाइएको रिट निवेदनमा उनले फैसला गरिसकेको मुद्दामा सही नगर्ने न्यायाधीशलाई आफ्नो काम गर्न आदेश दिनुपर्ने माग गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमा प्रतिनिधिसभा विघटन गरेका थिए ।
५ पुस, २०७७ मा भएको विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुन, २०७७ मा फैसला गरेको थियो । उक्त फैसलामा न्यायाधीश अनिलकुमार सिन्हाले राय लेखेका थिए । सर्वोच्च अदालतका कर्मचारीहरुका अनुसार, आफ्नो पेन्सनपट्टा नबनेको भन्दै पूर्व प्रधानन्यायाधीश जबरा फैसलामा हस्ताक्षर गर्न तयार छैनन् ।
संघीय संसदमा महाभियोग लागेपछि जबरा निलम्बनमा परेका थिए र निलम्बनबाटै अवकाश भए । महाभियोग सिफारिस समितिले तयार पारेको प्रतिवेदन प्रतिनिधिसभामा पेश हुने र छलफल गर्ने काम अघि बढेको छैन । संसद्बाट महाभियोगको विषय टुंगो नलागेको भन्दै सर्वोच्च अदालतले जबराको पेन्सनपट्टाको काम अघि बढाइदिएको छैन ।