भारतको उत्तराखण्डमा गएको बाढी–पहिरोमा परी धादिङका पनि चार जना सम्पर्कविहीन भएका छन् । धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिका–२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएका हुन् ।
उनीहरू कामका लागि उत्तराखण्ड गएको र सम्पर्कविहीन भएको भनेर उनीहरुकै परिवारका सदस्यहरुबाट जानकारी पाएको प्रमुख जिल्ला अधिकारी घिमिरे बताए । उनका अनुसार खोजीका लागि गृह मन्त्रालयमार्फत् भारतीय दूतावासलाई आग्रह गरिएको छ ।
साउन २० गते धराली बजारमा आएको बाढीले ठूलो जनधनको क्षति पुगेको छ । त्यहाँ खोज तथा उद्धार कार्य जारी छ । उनीहरू पनि त्यहीँ फसेको हुनसक्ने आशंका गरिएको छ । उत्तराखण्डको बाढीमा जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका एक जना सम्पर्कविहीन भएको स्थानीय जनप्रतिनिधिमार्फत् जानकारी आएको छ । धादिङका समेत चार जना थपिएपछि सम्पर्कविहीन हुने नेपालीको संख्या २२ पुगेको छ ।