शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

फेरि बढ्यो विद्युत चुहावट, प्राधिकरणले गुमायो १२ अर्ब

फेरि बढ्यो विद्युत चुहावट, प्राधिकरणले गुमायो १२ अर्ब

श्रावण १७, २०८२ शनिवार
श्रावण १७, २०८२ शनिवार
  • फेरि बढ्यो विद्युत चुहावट, प्राधिकरणले गुमायो १२ अर्ब

    एक दशकयता विद्युत चुहावट आधा घटाएको विद्युत प्राधिकरणको तथ्याङ्कमा यस पटक भने बढेको छ। वितरण चुहावट एकाएक बढ्दा नेपाल विद्युत प्राधिकरणले १२ अर्ब रुपैयाँ गुमाएको छ ।

    गत चैत दोस्रो साता प्राधिकरणको नेतृत्व सम्हालेका हितेन्द्रदेव शाक्यले चुहावट रोकथामका लागि ठोस कदम नचाल्दा प्राधिकरणले वितरण चुहावट बापत १२ अर्ब गुमाउनु परेको हो । प्राधिकरणले प्रादेशिक कार्यालयहरुबाट संकलन गरेको तथ्यांक अनुसार वितरण चुहावट १.१७ प्रतिशत विन्दुले बढेको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा १२.२० प्रतिशतको वृद्धि हो ।

    वितरण चुहावट अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ९.५९ प्रतिशत रहेकामा गत आव २०८१/८२ मा १०.७६ प्रतिशत पुगेको छ । प्रादेशिक कार्यालयहरुले प्राधिकरण मुख्यालयमा पठाएको विवरण अनुसार वितरणतर्फ १२ करोड युनिट विद्युत चुहावट भएको स्रोतले जानकारी दिएको छ ।

    ‘वितरण प्रणालीमा रहेको चुहावट रोक्न एमडीले खासै ध्यान दिएको देखिएको थिएन । जसका कारण १२ करोड युनिट चुहावट भएको विवरण आएको छ,’ स्रोतले भन्यो, ‘विद्युत १ प्रतिशत चुहावट हुँदा कम्तीमा एक अर्ब नोक्सान हुन्छ। यस आधारमा भन्ने हो भने प्राधिकरणले वितरणतर्फको चुहावटबाट करिब एक अर्ब २० करोड गुमाएको छ ।’

    वितरणतर्फ हुकिङ, मिटर रिडिङमा गडबडी, फेज छुट लगायत कारण विद्युत चुहावट हुने गरेको छ । यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेदेखि नै चुहावट नियन्त्रण गर्नका लागि देशव्यापीरुपमा अभियान चलाएका थिए । चुहावट रोक्न उनी आफैं फिल्डमा खटिने गरेका थिए ।

    कुलमानले विद्युत चुहावट नियन्त्रणका लागि जिल्ला÷जिल्लामा पुगे । वर्षौंदेखि एउटै कार्यालयमा बसेर मिटर रिडिङ गरिरहेका २५ सय कर्मचारीको सरुवा गरे । विद्युत चोरीमा साथ दिने कर्मचारीलाई पक्राउ गराएर कारबाही गर्न लगाए। जसले गर्दा चोरी नियन्त्रणमा प्राधिकरणलाई सफलता मिल्यो ।

    उनले प्राधिकरणको नेतृत्व सम्हाल्नुअघिको आर्थिक वर्ष २०७२/७३ मा वितरणतर्फको चुहावट १९.८० प्रतिशत थियो । कुलमान सुरुबाट नै चुहावटविरुद्ध निर्ममरुपमा प्रस्तुत भए । जसले गर्दा चुहावट हरेक वर्ष घट्न पुगेको थियो ।

    उनले प्राधिकरणको नेतृत्व सम्हालेकै वर्ष आव २०७३/७४ मा चुहावट १६.८३ प्रतिशतमा झारे । त्यसपछिको आव २०७४/७५ मा १४.८२, २०७५/७६ मा ११.२८ र आव २०७६/७७ मा १०.२८ प्रतिशतमा चुहावट झरेको तथ्याङ्क छ ।

    कुलमानको चार वर्षे कार्यकाल सकिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हितेन्द्रदेवलाई प्राधिकरणको नेतृत्व सुम्पिए । त्यसपछि १०.२८ प्रतिशतमा झरिसकेको चुहावट आव २०७७÷७८ मा बढेर ११.६४ प्रतिशत पुगेको थियो ।

    २०७८ को साउनमा प्राधिकरणको नेतृत्वमा फेरि कुलमान फर्किए । त्यसपछि चुहावट फेरि तल झर्‍यो । वितरण चुहावट आव २०७८/७९ मा १०.८६, आव २०७९/८० मा ९.७६ र आव २०८०/८१ मा ९.४० प्रतिशतमा झरेको प्राधिकरणको तथ्याङ्क छ ।

    कुलमानलाई बर्खास्त गरेर ओलीले गत चैत दोस्रो साता फेर हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाए । उनले श्वेतपत्रको सारसंक्षेप जारी गरे । ती उच्च अधिकृतका अनुसार चुहावट बढ्नुमा कुलमानलाई कुनै पनि हालतमा हटाउन अनेक प्रयास गरेका ऊर्जामन्त्री खड्काको पनि हात छ ।

    ‘मन्त्री ज्यूले संसद्को रोष्टमबाटै लोडसेडिङ हुन्छ भनिदिनु भयो । जबकि लोडसेडिङ हुने अवस्थै थिएन । तर मन्त्रीले पटक पटक लोडसेडिङको कुरा गरेपछि विद्युत हुकिङ गर्ने काम बढ्यो । मन्त्रीले कुलमानलाई कमजोर देखाउन मनपरी बोलिदिंदाको असर अहिले एमडीको थाप्लोमा परेको छ,’ ती उच्च अधिकृतले भने ।

    प्राधिकरणले आउँदो भदौ १ गते ४० औँ वार्षिकोत्सव मनाउँदैछ । उक्त अवसरमा उपलब्धिहरूको फेहरिस्त प्रस्तुत गर्न प्रतिवेदनको तयारी हुँदैछ । तर, प्राधिकरणको नेतृत्व परिवर्तन भएकै बेला चुहावटको अंक बढेको देखिँदा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका लागि टाउको दुःखाइ बनेको छ ।

    निर्देशनालयका एक अधिकारीका अनुसार, चुहावट प्राविधिक र गैरप्राविधिक हुन्छ । प्राविधिकतर्फ हेर्दा ‘ट्रिपिङ’ (बत्ती जाने–आउने) समस्या, नियमित आपूर्तिमा समस्या आदि कारणले हुन सक्छ । तर, मुख्य कारण चाहिँ केही महिनायता चुहावट र चोरी नियन्त्रणका लागि चालिएका कदम ठप्पप्रायः भएका छन् ।

    उनका अनुसार, कार्यकारी निर्देशक शाक्यले चुहावट बढेको तथ्याङ्क संशोधन गर्न निर्देशन दिएका छन् । उनको निर्देशनपछि ग्राहक तथा वितरण सेवा निर्देशनालयका निर्देशक दीर्घायुकुमार श्रेष्ठले छलफलका लागि शनिबार बैठक बोलाएका छन् ।

    बैठकमा सबै प्रादेशिक कार्यालयका प्रमुखहरूलाई बोलाइएको स्रोतको भनाइ छ । एक प्रादेशिक कार्यालय प्रमुखले भने, ‘म त तथ्याङ्क संशोधन गर्न सक्दिनँ । दिनलाई रात, रातलाई दिन भन्न सकिँदैन । भोलि महालेखापरीक्षकबाटै अडिट हुने कुरा हो यो ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार