नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टी नीति विपरीत बोलेकाले खुुरुक्क राजीनामा दिएर पार्टीबाट बिदा हुन सुझाव दिएका छन् । आज (शुक्रबार) विराटनगरमा पार्टीका सम्मानित नेता ‘झलनाथ खनालले एमाले टुक्र्याउनु गलत भएको भन्नु भएछ’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा जवाफ दिँदै अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टीबाट बिदा लिन सुझाव दिए ।
उनले सम्मानित नेता खनालले पटक–पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेकाले उनको भनाइको अर्थ नरहेको बताए । पार्टी भित्र निर्णय नमान्ने नेताहरूको सूचीमा खनाल १ नम्बरमा रहेको भन्दै उनले खनाललाई पार्टीमा बस्ने अधिकार समेत नभएको बताए । उनले भने, ‘उहाँले त्यसो भन्नु भएको हो भन्ने कुरा मलाई विश्वास लागेको छैन । अचेल त एआई को जमाना छ । नबालेको कुरा पनि बोलेको जस्तो बनाइन्छ । उहाँले पाटीबाट बिदा लिनुपर्छ ।’
उनले माओवादीसँग समाजवादी मोर्चालाई निरन्तरता दिने र दुई पाटी बिचको सम्बन्धलाई विश्वासको जगमा खडा गर्ने र सहकार्यलाई बलियो बनाउने गरी जाम भनेर छलफल भइरहेको बताए । एक प्रश्नको जवाफमा नेता नेपालले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान र कानुनले पुनः राजनीतिमा छिर्न रोक नलगाएकोले उनीहरुको व्यक्तिगत निर्णय अनुसार नै हुने धारणा व्यक्त गरे ।
अध्यक्ष नेपालले शेरबहादुर देउवा र केपी ओली एक ठाँउमा रहेसम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको बताए । एकीकरणको कुरा भएको ? यो कुरा भएको छैन । अहिले सहकार्य र मोर्चाको मात्रै कुरा भएको छ । दुई पाटी बिच सहकार्यको कुरा अगाडि बढाऔँ ।’
उनले यो सरकार सबै हिसाबले असफल भएको बताए । उनले भने, ‘एउटा व्यक्ती केपी ओलीको अहङ्कारको दम्भका कारण देश पीडित छ ।’ उनले आफूलाई लागेको केस भ्रष्टाचारको केस नै नभएको दाबी गरे । उनले भने आफूमाथि लागेको भ्रष्टाचारको मुद्दा राजनीतिक प्रतिसोध भएको दाबी गरे । उनले आफू माथि पूर्वाग्रह भएको कुरा सबैले बुझेको र आफूले एक पैसा पनि तलमाथि नगरेको दाबी गरे ।
उनले आफूसँग जोडिएको भ्रष्टाचारको केसमा सबै विधि प्रक्रिया तलबाटै पुगेको बताए बताए । उनले भने, ‘मन्त्रालय, उप सचिव सचिव राज्यमन्त्री पूर्ण मन्त्री र क्याविनेटको सबै सम्मत निर्णय भएको छ कसैको फरक मत छैन । त्यसो हुनाले यो काम गर्न ऐन र कानुनले दिएको छ । संविधानले दिएको छ ।