शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बाटोमै बच्चा जन्माएकी बाजुराकी पवित्रा लोहारको कथा

बाटोमै बच्चा जन्माएकी बाजुराकी पवित्रा लोहारको कथा

श्रावण ९, २०८२ शुक्रवार
श्रावण ९, २०८२ शुक्रवार
  • बाटोमै बच्चा जन्माएकी बाजुराकी पवित्रा लोहारको कथा

    सन्तोषी रावल, बाजुरा । आर्थिक अभावले श्रीमान् साथमा छैनन् । गाडी चढ्न पैसा छैन अनि समाजले हेर्ने दृष्टिकोणले गर्दा सरसहयोग माग्न पनि लाज लाग्छ । त्यही लाज र डरले बाजुराकी पवित्रा लोहारले सुत्केरी व्यथाले च्यापिँदासमेत स्वास्थ्य चौकी पुग्न सकिनन् र आफ्नै बलमा, बाटोमै अर्थात खुला आकाशमुनि सन्तान जन्माइन् ।

    कथा केवल पवित्राको मात्र होइन, सुदूरपश्चिमका ती आमाहरूको हो, जसले बाँच्न र सन्तान जन्माउन हरेकचोटि जीवनसँग संघर्ष गर्नुपर्छ । ज्यान जोखिममा राख्नुपर्छ । यस्ता कथाहरूले सबैलाई भावुक बनाउँछ । आँसु थाम्न गाह्रो बनाउँछ ।

    Photo (3).jpg

    बाजुराको बुढीगंगा नगरपालिका–७ की २२ वर्षीया पवित्रा लोहार स्वास्थ्य चौकी पुग्न नपाउँदै बाटोमै आफ्नो तेस्रो सन्तानलाई जन्म दिएको यही घट्नाले समाजप्रति प्रश्न उब्जाएको छ । माइतीघर कोटवाडाबाट सुत्केरी सेवा लिन स्वास्थ्य चौकीतर्फ हिँडिएकी पवित्राले घरबाट निस्किएको केही मिनेटमै ब्यथाले च्यापेपछि बाटोमै बच्चा जन्माउनु परेको हो ।

    पवित्राको माइतीघर नजिकै रहेको स्वास्थ्य चौकीसम्मको दूरी अधिकतम आधा घण्टा पैदल हिँड्नुपर्ने हो । तर रातिदेखि पेट दुखिरहेको भए पनि लाज र संकोचका कारण उनले कसैलाई केही जानकारी नदिइ बिहान ९ः३० बजे एक्लै चौकीतर्फ लागेकी थिइन् । उनले आफ्नै आमासमक्ष पनि ब्यथा लागेको कुरा भन्न सकेकी थिइनन् ।

    Photo (3).jpeg

    स्वास्थ्य चौकीमा खबर पुग्नासाथ अनमी मंगला कुमारी बोहराको नेतृत्वमा गएको स्वास्थ्य टोलीले बाटोमै सुरक्षित तरिकाले सुत्केरी गराएर आमा र बच्चालाई सकुशल उद्दार गरेको छ । स्वास्थ्य संस्थामा लगिएको केही समयमै सुत्केरीलाई आवश्यक सेवा दिइएको अनमी बोहराले जानकारी दिइन् ।

    विवाह भएको पाँच वर्षमै तेस्रो सन्तान जन्माएकी पवित्रा अहिले २२ वर्षकी मात्र छिन । श्रीमान भारतमा मजदुरी पेशामा रहेकाले गर्भकालदेखि सुत्केरीसम्मको सम्पूर्ण जिम्मेवारी उनले आफैंले निर्वाह गर्नुपरिरहेको छ । सासु–ससुरा अलग बस्ने, आफन्त कोही नहुने र आर्थिक हैसियत कमजोर भएका कारण उनले एम्बुलेन्स समेत बोलाउन सकिनन् ।

    पवित्राको घटना बाजुराजस्ता दुर्गम क्षेत्रका महिला र आमा बन्न लागेकाहरूको प्रतिनिधि पीडा हो । सुदूरपश्चिमका धेरै बस्तीहरूमा अझै स्वास्थ्य सेवा सजिलै उपलब्ध छैन । पायक पर्ने स्वास्थ्य संस्था टाढा हुनु, सडक नहुनु, परिवहन सेवा नपुग्नु र सामाजिक संकोचजस्ता कारणले महिला ब्यथा च्यापिएपछि मात्रै उपचारका लागि पुग्ने गर्दछन् ।

    स्वास्थ्यकर्मीका अनुसार पवित्राको अवस्था गम्भीर हुन सक्ने थियो, तर समयमै खबर पाएको र टोली गएर उद्दार गरेकाले आमा र बच्चा दुवैको ज्यान बचेको हो । पवित्रा नियमित जाँचमा जाँदै आएकी थिइन् र साउन २० गते डाक्टरले प्रसूति मिति दिएको भए पनि समयभन्दा पहिले बच्चा जन्मिएको हो ।

    Photo (6).jpg

    बुढीगंगा नगरपालिका उपप्रमुख माया कुँवरका अनुसार पालिकाले सुरक्षित प्रसूति गृह निर्माणमार्फत सबै वडामा स्वास्थ्य सेवा पुर्‍याउने प्रयास गरेपनि व्यवहारिक रूपमा परिवार र समुदायको बेवास्ता अझै ज्यूँकात्यूँ छ । उनका अनुसार स्वास्थ्य संरचना मात्रै भएर पुग्दैन, परिवारको तयारी, माया र सहयोग नभएसम्म आमा र नवजात शिशुको सुरक्षामा ग्यारेन्टी हुँदैन ।

    स्वास्थ्यकर्मी मंगला कुमारी बोहराले भनिन्,‘यहाँ अधिकांश गर्भवती महिलाहरू एक्लै अस्पताल आउँछन् । श्रीमानहरू विदेशमा छन्, परिवार बेवास्ता गर्छन । ब्यथा लागिसकेपछि मात्रै खबर गर्छन्, जुन निकै जोखिमपूर्ण हुन्छ ।’

    Photo (2).jpeg

    पवित्राको कथा एउटा उदाहरण मात्र हो, तर समस्या सामूहिक र परम्परागत छ । यस्तो समस्याको समाधानका लागि संरचना मात्रै होइन, चेतना, सहानुभूति र जिम्मेवारी आवश्यक छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार