“संविधानले सुनिश्चित गरेका महिला अधिकारहरुको कार्यन्वयन गर” भन्ने मूल सन्देश सहित आज राजधानीमा महिला मानव अधिकार रक्षकहरूको संयुक्त आयोजनामा माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म सशक्त ऐक्यबद्धता र्याली सम्पन्न भएको हो।
र्यालीमा २०० भन्दा बढी महिला मानव अधिकार रक्षकहरूको सक्रिय सहभागिता देखिएको थियो। सहभागीहरूले संविधानले सुनिश्चित गरेका तर व्यवहारमा कार्यान्वयन नभएका अधिकारहरूलाई पुनः स्मरण गराउँदै नाराहरू प्रस्तुत गरे-जसमा “मेरो शरीर, मेरो अधिकार”, “महिला अधिकार ;मानव अधिकार, संविधानले दिएको हक ,कागजमै किन भयो लक” र “हिंसा हामी सहदैनौं, चुप लागेर बस्दैनौं” जस्ता नाराहरू गुञ्जिएका थिए।
कार्यक्रमको कोणसभामा राष्ट्रिय सञ्जालकी अध्यक्ष श्याम कुमारी शाहले शिक्षा र शैक्षिक संस्थामा यौन हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्दै, संविधानले प्रदान गरेका अधिकारहरू अझै पनि कागजमै सीमित रहेको बताइन्। म्हिलाको सम्पत्तिमा हक, हिंसाविरुद्धको सुरक्षा र राजनीतिक सहभागितामा देखिएको कमजोरी प्रति खबरदारी गरिएको थियो।
संस्थापक अध्यक्ष डा.रेणु अधिकारीले नेताहरूको गैरजिम्मेवार अभिव्यक्तिबाट महिलामाथि हुने प्रभावबारे सचेत गराउँदै, राज्यको नियन्त्रण महिलाको शरिरमाथि होइन, संविधानको कार्यान्वयनमा केन्द्रीत हुनुपर्ने बताइन्। उहाँले “मिशन २०८४” मार्फत महिला मतदातालाई सचेत गराउँदै भनिन् “जसले जिताएर नेता बनाए, उनै महिलाले निर्वाचनमा हराउन पनि सक्छन्।्” महिलाको अधिकार यो वा त्यो नाममा कुण्ठित गर्न पाइँदैन । कार्यक्रममा संविधानले सुनिश्चित गरेका अधिकारहरू-समान सहभागिता, सम्मानसाथ बाँच्न पाउने अधिकार, हिंसामुक्त जीवन-मात्र वचनमा नभई व्यवहारमा लागू गर्नुपर्ने माग गरियो। यौन हिंसा, दण्डहीनता र भेदभाव विरुद्ध शून्य सहनशीलता नीति लागू गर्न, सेवा क्षेत्रहरूमा लैङ्गिक समानता स्थापनाका लागि कार्यान्वयनतर्फको दबाब सशक्त रूपमा प्रस्तुत गरियो।
महिला अधिकारका लागि दबाव अभियानले आगामी दिनमा निरन्तर दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। हामीले हाम्रो अभियान सुरु गरिसकेका छौं, जबसम्म महिलाको संवैधानिक अधिकार व्यवहारमा उतारिँदैन तब सम्म यो आन्दोलन नरोक्ने सहभागीहरुले बताएका छन्।
भिडियो: