नेकपा एमालेको पोलिटब्युरोको बैठक आजै सकिने भएको छ ।
ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी रहेको पोलिटव्यूरो बैठकमा सदस्यहरूले प्रस्तुत प्रस्तावमाथि धारणा राख्नेक्रम जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
आजको बैठकमा अहिलेसम्म ३२ जनाले आफ्नो धारणा राखेका छन् भने अझै ४० जनाले बोल्न बाँकी रहेको गौतमले जानकारी दिएका छन् । बैठकमा पेश गरिएका प्रस्ताव बाहेक प्रदेश र स्थानीय कमिटिलाई कार्यकारी बनाउने प्रस्ताव आएको गौतमले बताए । उनले बैठक आजै ६ बजेसम्म निर्णय गरेर सकिने बताए ।
बैठकमा विद्यादेवी भण्डारी राजनीतिमा फर्किने विषयसहित ७० बर्षको उमेर हद र दुई कार्यकालको विषयमा पनि सदस्यहरुले आफ्नो धारणा राहेका छन् ।
शुक्रबार शुरु भएको पोलिटव्यूरो बैठकले पेश गरिएका प्रतिवेदनलाई अनुमोदन गरेपछि यही साउन ५ गते सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले त्यसलाई अन्तिम रूप दिने छ । एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ ।