अडियो कान्ड सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।
घुस लिएको आरोप लागेका मन्त्री गुप्ताले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको जानकारी गराएका हुन् । केही दिनअघि मन्त्री गुप्ताले घुस खाएको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि उनको सर्वत्र विरोध भएको थियो ।
विपक्षी दलहरुले राजीनामा माग गर्नुका साथै कारबाही गर्न माग गरेका थिए । सार्वजनिक अडियो रेकर्ड अनुसार, गत पुस/माघमा काम गरिदिने भनेर मन्त्री गुप्ताले केही रकम समेत बुझिसकेका थिए ।
अडियो रेकर्डमा मूलत: कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्तीबारे छलफल भए पनि पोखराको जग्गाको कुराकानीको प्रसंग समेत छ । मन्त्री गुप्ताले विभिन्न क्षेत्रका आकर्षक मालपोत कार्यालयहरूमा फोन गरेर ‘सहयोग माग्ने’ र भनेजस्तो नभएमा अन्तर मन्त्रालय सरुवा गरिदिन्छु भनेर धम्क्याउने गरेको समेत आरोप छ ।
उनले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी गराएका छन् । उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्,
“विगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधान मन्त्रि समक्ष सामान्य प्रशासन मन्त्रि पदबाट राजिनामा गरेको छु । प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु । अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारि बोधका साथ पार्टिले दिएको जिम्मेवारि इमान र निस्टाको साथ पुरा गर्ने प्रतिवद्दताकाे साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।”