पूर्व पञ्चहरूको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा भित्रभित्रै उकुसमुकुस रहेको विवाद सतहमा आएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीविरुद्ध असन्तुष्ट समूह आइतबार निर्वाचन आयोगमा उजुरी दिन पुगेको छ । पार्टीको अनुशासन समिति संयोजकबाट हटाइएका नवराज सुवेदी, प्रवक्ताबाट हटाइएका सगुन सुन्दर लावतीसहित पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशमशेर राणा लगायतका नेता निर्वाचन आयोग पुगेका हुन् ।
आफू पार्टीभित्र भएको अन्यायविरुद्ध आवाज उठाउन निर्वाचन आयोग पुगेको सुवेदीले बताएका छन् । आफूहरुको यो कदम पार्टी विभाजनका लागि नभएको पनि उनले प्रतिक्रिया दिए । ‘संयुक्त जनआन्दोलन समिति’ का संयोजक समेत रहेका नवराज सुवेदीले अहिले देखा परेको विवादले राष्ट्रिय प्रजातन्त्र पार्टी नफुट्ने बताएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते सुवेदीलाई पार्टीको अनुशासन समिति अध्यक्षबाट हटाएका थिए । राप्रपा अनुशासन समिति अध्यक्षमा लिङ्देनले उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत समेत गरिसकेका छन् । तर सुवेदीले आफूलाई हटाएको विरोधमा आइतबार निर्वाचन आयोगमा उजुरी दिएका छन् । पार्टी विधानविरीत आफूलाई हटाएको दाबी उनको छ ।
सुवेदीले गत चैत ४ गते ‘संयुक्त जनआन्दोलन समिति’ गठन गरेका थिए । त्यसबेला उनले राप्रपाको साधारण सदस्यता पनि परित्याग गरेको घोषणा गरेका थिए । ‘मैले राप्रपा सचिवालयमा सोधें–मलाई अध्यक्षजीले अनुशासन समिति अध्यक्षबाट हटाउनु भएको हो भनेर, सचिवालयले हो भनेपछि मैले अध्यक्षजीसँग कुरा गरेको छैन,’ सुवेदीले आइतबार मध्याह्न निर्वाचन आयोग परिसरमा पत्रकारहरूसँग भने, ‘यो विवादले पार्टी भने फुट्दैन ।’ सुवेदीले आफूलाई अनुशासन समिति अध्यक्षबाट हटाउने निर्णय केन्द्रीय समितिबाट नभई अध्यक्षबाट मात्रै भएको पनि बताए । ‘निर्णय गर्नुअघि मलाई सोधिएको छैन, मलाई चिठी दिएको पनि छैन, मैले मिडियाबाट थाहा पाएँ कि उहाँले मलाई निकालेर अर्को मानिस ल्याउनु भयो भन्ने,’ उनले भने, ‘पार्टीमा आन्तरिक अन्याय हुन लाग्यो, त्यसको खिलापमा मैले यो आवाज उठाएको हो ।’
उनले आफूले अनुशासन विपरीत काम नगरेको पनि बताए । ‘मैले के अुनशासन विपरीत काम गरें ?’ उनले प्रतिप्रश्न गरे । पार्टी अझै बलियो होस् र षड्यन्त्र नहोस् भनेर निर्वाचन आयोगमा उजुरी दिएको उनले बताए । पार्टी त फुट्दैन नि यो विवादले भन्ने प्रश्नमा सुवेदीले भने ‘फुट्दैन फुट्दैन ।’ उनले राजसंस्था पुनर्स्थापनाको आन्दोलन नहराएको पनि बताए । ‘यो राप्रपाले मात्र चलाएको आन्दोलन होइन, ४४-४५ संस्था छन्,’ उनले भने । यस्तै पूर्व अध्यक्ष लोहनीले पार्टीभित्र न्याय भए मात्रै पार्टी बलियो हुनसक्ने बताए । ‘जब पार्टीभित्र न्याय हुन्छ नि त्यतिबेला पार्टी बलियो हुन्छ । यो हामी जे गरिरहेका छौँ पार्टी बलियो बनाउन गरिरहेका छौँ,’ लोहनीले भने । यसअघि असन्तुष्ट समूहले शनिबार नक्सालस्थित महामन्त्री राणाको सम्पर्क कार्यालयमा छुट्टै भेला समेत आयोजना गरेका थिए ।