शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपाल रैबार बुलेटिन: आज दिनभरका प्रमुख समाचार

नेपाल रैबार बुलेटिन: आज दिनभरका प्रमुख समाचार

आषाढ २७, २०८२ शुक्रवार
आषाढ २७, २०८२ शुक्रवार
  • नेपाल रैबार बुलेटिन: आज दिनभरका प्रमुख समाचार

    आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

    १- नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरेका छन् । अघिल्ला वर्षहरूमा प्रायः साउन पहिलो सातादेखि मौद्रिक नीति आउने गरेकोमा यस वर्ष नयाँ गभर्नर पौडेलले आफ्नो पहिलो मौद्रिक नीति असारभित्रै ल्याएका हुन् । बजेट साउन १ देखि कार्यान्वयनमा आउने भएकाले मौद्रिक नीतिलाई पनि सोही मितिदेखि कार्यान्वयनमा ल्याउन खोजिएको यस पहललाई सकारात्मक रुपमा हेरिएको छ । राष्ट्र बैंकले ब्याजदर थप घटाउन नरम नीति ल्याएको छ । मौद्रिक नीतिमा ब्याजदरको माथिल्लो सीमालाई साढे ६ प्रतिशतबाट ६ प्रतिशतमा झारिएको छ भने नीतिगत दर ५ प्रतिशतबाट साढे ४ प्रतिशतमा झारिएको छ । त्यस्तै ब्याजदरको तल्लो सीमा ३ प्रतिशतबाट २.७५ प्रतिशत कायम गरिएको छ । त्यस्तै अब विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्राको सटही सुविधा पाउने भएका छन् । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यसअघि २५ सय डलर रहेकोमा अब ३ हजारसम्म सटहीको सुविधा दिने भएको छ ।

    २- नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय एकता अभियानबीच पार्टी एकता हुने भएको छ ।  शुक्रबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा माधवकुमार नेपाल र वामदेव गौतमबीचको छलफलपछि आगामी साउन २ गते राष्ट्रिय सभा गृहमा एक कार्यक्रमको आयोजना गरी पार्टी एकता गर्ने सहमति भएको हो ।  

    ३- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलील् सरकारले २० वर्षपछि विवाह गर्न कानुनी प्रबन्ध गरेकाले समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न र चालीस कटेपछि रमाउला भन्ने गीतमा नअल्मन आग्रह गरे ।

    ४- काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते आउने भएको छ । शुक्रबार बसेको काठमाडौं महानगरपालिकाको ४०औं कार्यपालिका बैठकले असार २९ गते बिहान कार्यपालिका बैठक र  दिउसो १७औं नगरसभा अधिवेशन हुने मेयर बालेन शाहले जानकारी दिए । बैठकमा नगर सभा बस्ने एक मात्र प्रस्ताव पेश गरिएको थियो भने सो प्रस्ताव पारित गर्दै बैठक शुरु भएको एक मिनेटमै सकिएको थियो । यसअघि आजै बसेको महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको थियो । बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गरेको छ । 

    ५- पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गर्ने गरेको आरोपमा पाठकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पाठकले पूर्वराजा ज्ञानेन्द्रका विज्ञप्तिहरू ‘श्री ५ महाराजधिराज’ को नाममा सम्बोधन गर्दै जारी गर्ने गरेका थिए ।

    ६- सीता दाहालको स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ मानव सेवा आश्रम, रानीवनमा पुगेका छन् । प्रचण्डले आश्रममा आश्रितहरूसँग आत्मीय भेटघाट गर्नुका साथै भोजन गराएका छन् ।

    ७- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले केन्द्रका लागि उच्च कम्प्युट पूर्वाधारको आपूर्ति, डेलिभरी, स्थापना र सञ्चालनको लागि भएको खरिद प्रक्रियामा अनियमितता गरेको आरोप लगाएको छ । अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत  निम बहादुर वली र वर्ल्ड डीष्ट्रीव्युसन नेपाल प्रा.लि. कान्तिपथ, काठमाडौंका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण श्रेष्ठले आपसी मिलोमतो तथा योजनामा गैरकानूनी लाभ पुर्‍याउने तथा नेपाल सरकारलाई १५ करोड ८८ लाख ५० हजार हानी पुर्‍याउने काम गरेको आरोप लगाएको छ ।

    ९- राप्रप्राका संस्थापक एवं वरिष्ठ नेता बलराम घर्ती मगरको निधन भएको छ । राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार घर्ती मगरको शुक्रबार ललितपुरस्थित बिएण्डबी हस्पिटलमा उपचारका क्रममा निधन भएको छ । पञ्चायतकालदेखि राजनीतिमा सक्रिय रोल्पाका ८७ बर्षिय घर्तिमगर ११ पटक मन्त्री भएका थिए । हाल उनी राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्य थिए । घर्तिमगरका श्रीमती र ७ छोरी छन् ।

    १०- फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम जारी रहेको छ । पोखरा महानगरपालिका, गण्डकी  प्रदेश  र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा सीमा स्तम्भहरू गाड्ने काम थालिएको हो ।  फेवाताल घरको सिमानामा हालसम्म ७८८ पिल्लरहरु गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले जानकारी दिएका छन् । नगर प्रमुख धनराज आचार्यको प्रत्यक्ष निरीक्षणमा तालको वडा नम्बर २२ तर्फको क्षेत्रमा पील्लर गाड्ने कार्य भइरहेको सुवेदीले बताए ।

    ११- काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनावश्यक हर्न नबजाउन आग्रह गरेको छ । विगत केही समय देखि काठमाडौँ उपत्यकामा अनावश्यक हर्न बजाई ध्वनी प्रदुषण बढेको जनगुनासो प्राप्‍त हुन आएको भन्दै लाखौँ सवारी साधन सञ्चालन हुने काठमाडौँ उपत्यकामा अनावश्यक हर्न बजाउदा ध्वनी प्रदुषण भइ जेष्ठ नागरिक, बालबालकिका तथा सर्वसाधरणमा गम्भीर असर पर्ने भएको हुदा अत्यावश्यक तथा विशेष परिस्थितीमा बाहेक हर्न प्रयोग नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय हार्दिक अनुरोध गरेको छ । 

    १२- गैरआवासीय नेपाली संघ (एनआरएनए) का लागि सन् २०२५–२०२७ कार्यकालको सदस्यता संकलन तीव्र गतिमा भइरहेको छ । २०२५ जुलाई ११ सम्मको तथ्यांकअनुसार कुल ६८ हजार ६५१ जना सदस्यता आवेदन स्वीकृत भइसकेको छ भने थप ५ हजार १९८ नयाँ आवेदन स्वीकृतिको प्रक्रियामा रहेका छन् । संसारभरका ५६ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मार्फत सदस्यता संकलन भैरहेको छ ।

    १३- स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई प्रतिकित्ता १०० रुपैयाँको दरले २३ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । नेपाल धितोपत्र बोर्डले स्वस्तिकलाई कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति दिएको छ । 

    १४- नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टिमका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ । असार २१ गते मलेसियामा सम्पन्न एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । प्रतियोगितामा सहभागी टोलीका सदस्यलाई क्यानले जनही ५० हजार रुपैयाँ प्रदान गर्ने क्यानले जानकारी दिएको छ ।

    १५- नर्वे र स्वीजरल्याण्ड जारी महिला युरो कपको क्वाटरफाइनलमा पुगेका छन् । समुह ए का समुह चरणका खेल सकिएसँगै नर्वेले आफ्ना तिनै खेलमा जित हासिल गरेर समुह विजेता हुदै क्वाटरफाइनलमा पुगेको हो ।  त्यस्तै स्वीजरल्याण्डले ३ खेलमा ४ अंक हासिल गर्दै उपविजेता हुदै क्वाटरफाइनलमा पुगेको छ । स्वीजरल्याण्ड पहिलो पटक महिला युरोको क्वाटरफाइनलमा पुगेको हो । १६ देशले भाग लिएको महिला युरो कप जुलाई २ देखि शुरु भएको थियो । प्रतियोगिताको फाइनल खेल जुलाई २७ मा हुनेछ ।

    १६-  वेल्स र रियल म्याड्रिडका पुर्व फरवार्ड ग्यारेथ बेलले इङल्याण्डको लिग वान क्लब कार्डिफ सिटीलाई किन्न प्रस्ताव दिएका छन् ।  यस बर्ष लिग वानमा रेलिगेट भएको कार्डिफ सिटीका हालका मालिक भिन्सेन्ट टान क्लबको स्वामित्व बेच्न दबाबमा परेका छन् ।  बेलले कार्डिफ सिटीका लागि ५४ मिलियन डलरको खरिद प्रस्ताव दिएको मिडिया रिपोर्टमा उल्लेख छ । 

    १७- फिल्म ‘मन बिनाको धन’ को प्रदर्शन मिति तय भएको छ। टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको चलचित्र ‘मन बिनाको धन’ कात्तिक  २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्मकी निर्मात्री बिष्णु माया मैनाली र वितरण कम्पनीहरूसँग सम्झौतापछि निर्माण टिमले आधिकारिक प्रदर्शन मिति तय गरेको हो । यो चलचित्र प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार खरिद गरेको छ  । 

    १८- भारतीय हास्य कलाकार कपिल शर्माले क्यानडाको ब्रिटिश कोलम्बियाको सरेमा रहेको क्याफेमा गोली चलेको छ । कपिल शर्माले तीन दिनअघि, जुलाई ७ मा क्याप्स क्याफे नामक क्याफेको संचालन गरेका छन् । मिडिया रिपोर्टका अनुसार आक्रमणकारीहरूले क्याफेमा ९ राउन्ड गोली चलाएका थिए । एनडीटीभीको रिपोर्टले खालिस्तानी नेता हरजीत सिंह लाडीले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेको छ । हरजीत सिंह राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) को सूचीमा रहेका मोस्ट वान्टेड मध्ये एक हुन् ।

    १९- अमेरिकाले क्यानडाबाट आयात हुने सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई पत्र लेख्दै नयाँ कर दरहरूको बारेमा जानकारी गराएकोका हुन् । यो कर अगस्ट १, २०२५ देखि अमेरिका प्रवेश गर्ने क्यानेडियाली उत्पादनहरूमा लागू हुनेछ ।

    २०- ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला द सिल्भाले अमेरिकाले ब्राजिलमाथि लगाएको कुनै पनि करको सामना गर्न आफू तयार रहेको बताएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि ब्राजिलमा ५० प्रतिशत करको घोषणा गरेपछि राष्ट्रपति सिल्भाले ट्रम्पको  करको सामना गर्न आफू तयार रहेको बताएका हुन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार