रसुवामा आज (मंगलबार) बिहान भोटेकोशी नदीमा आएको बाढीमा फसेकाहरूको उद्धार गर्न गएका तीन प्रहरी पनि बेपत्ता भएका छन् । बाढी आएपछि उद्धारमा खटिएकामध्ये इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी जवान लोकेन्द्र बोहरा बेपत्ता भएका रसुवा प्रहरीले जनाएको छ ।
प्रहरीले जारी गरेको सूचनाअनुसार अहिलेसम्म बाढीमा ३ प्रहरी, १२ नेपाली नागरिक र ६ चिनियाँ नागरिक गरी १८ जना हराइरहेका छन् । हालसम्म सबैको पहिचान खुलिसकेको छैन।
यस्तै बाढीमा फसेकाहरूमध्ये एक जना नेपाल प्रहरी, एक जना सशस्त्र प्रहरी र सात जना स्थानीय उद्धार गरिएको जानकारी पनि प्रहरीले दिएको छ । रसुवा प्रहरीका अनुसार चीन क्षेत्रमा परेको भीषण वर्षाका कारण रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ रसुवागढीमा मंगलबार बिहान ३ बजेतिर बाढी आएको हो ।
बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएकाले मंगलबार बिहान ४ बजेदेखि आवतजावत बन्द भएको छ । यस्तै बाढीले गोसाइँकुण्ड २ मा रहेको ईभी चार्जिङ स्टेसनमा रहेका ७/८ वटा गाडी बगाएको छ भने भन्सार कार्यालय रसुवाको यार्ड र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको जानकारी प्रहरीले दिएको छ ।
प्रहरीले जारी गरेको सूचना