नेपाल विद्यालय कर्मचारी परिषद् र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच चर्काचर्की भएपछि समापन कार्यक्रम स्थगित भएको छ । सरकार र शिक्षक महासंघबीच बुधबार राति भएको सहमतिबारे जानकारी दिन बिहीबार काठमाडौंको रत्नराज्य स्कुलमा आयोजित कार्यक्रममा विवाद र भनाभन भएको हो ।
सहमतिलाई लिएर तीव्र असन्तुष्टि जनाएका विद्यालय कर्मचारीहरूले कार्यक्रमस्थलमै आपत्ति जनाए । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र शिक्षामन्त्री रघुजी पन्तले गरेको सहमतिमा वक्तव्य निकालेर विरोध जनाएका कर्मचारीहरू रत्नराज्यमा पनि आक्रोशित मुद्रामा देखिए ।
सरकारसँग बुधबार सहमति भएपछि महासंघले आज मध्यबानेश्वरको रत्नराज्यलक्ष्मी माविमा समापन तथा शुभकामना कार्यक्रम राखेको थियो । तर, विद्यालय कर्मचारी परिषद्का कमर्चारी सहमतिप्रति असन्तुष्टि जनाएपछि कार्यक्रम स्थगित गरिएको हो । विद्यालय कर्मचारी परिषद्ले कर्मचारीका विषय पनि सहमतिमा समेट्नुपर्ने र बढाउने भनिएको सेवासुविधाको रकम स्पष्ट खुलाउनुपर्ने माग राखेको छ ।
सरकारसँगको सहमतिका आफूहरूका मागको सम्बोधन नभएको जनाउँदै उनीहरूले महासंघको बैठकस्थलमा पनि प्रश्न गरे । कर्मचारीले आपत्तिसहित विरोध जनाएपछि शिक्षकका नेताहरूसँग भनाभन भएको छ । शिक्षकसँग भनाभन चर्किएपछि समीक्षा बैठक पनि अवरुद्ध भएको छ । शिक्षकसहित आफूहरूका माग सहमतिमा नसमेटिएपछि कर्मचारीहरू रुष्ट छन् ।
यसैबीच बिहीबार नै नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिले नेपाल शिक्षक महासंघ र सरकारबीचको सहमतिप्रति वक्तव्य जारी गरेरै आपत्ति जनाइसकेको छ।