सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको छ । शिक्षकहरूको आन्दोलन भोलि (बिहीबार) बाट स्थगित हुने भएको छ । सरकार र शिक्षक महासंघबीच सहमति भएपछि आन्दोलन स्थगित गर्ने भएको हो ।
मन्त्रिपरिषद्को निर्णयपछि सहमतिका बुँदा सार्वजनिक गर्ने र आन्दोल स्थगित गर्ने बैठकमा सहभागी एक सदस्यले बताए । यो सँगै अब शिक्षकहरू विद्यालय फर्कन सहमत भएका हुन् । सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्तामा कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि नै गराउने सहमति भएको छ ।
बुधबार सिंहदरबारमा भएको वार्तामा शिक्षामन्त्री रघुजी पन्तसहित नेपाल महासंघका पदाधिकारीहरू सहभागी थिए । "सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्तामा कक्षा १२ को परीक्षा आउँदो वैशाख २१ गतेदेखि नै गराउने सहमति भएको छ," शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने ।
असार १५ गतेसम्म शिक्षा ऐन जारी भइसक्ने डेटलाइन राखिएको उनले बताए । यही वैशाख ११ गतेदेखिलाई तोकिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनकै कारण सारिएको थियो । सरकार शिक्षकहरूले पेस गरेको नौबुँदे प्रस्तावमा सहमतिमा पुगेको छ । सहमतिमा हस्ताक्षर हुन भने बाँकी छ ।
शिक्षकहरूले सातवटै प्रादेशिक अस्पताल र निजामती अस्पतालबाट सबै शिक्षक, कर्मचारीको सहुलियतमा उपचार गराउने व्यवस्था गर्नेलगायत माग राखेका थिए ।
शिक्षकका माग सम्बोधन गर्न सरकारलाई आठ अर्ब दायित्व थपिने, अर्थको सहमति
आन्दोलनरत शिक्षक महासंघको माग पूरा गर्न सरकारलाई वार्षिक आठ अर्ब दायित्व थपिने भएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूका माग सम्बोधन गर्न वार्षिक ८ अर्ब दायित्व थपिने बताएका हुन् ।
बुधबार राति मन्त्रिपरिषदको बैठकपछि शिक्षामन्त्री पन्तले शिक्षकहरुका माग सम्बोधन गर्न वार्षिक ८ अर्ब दायित्व थपिने र यसमा अर्थ मन्त्रालयले सहमति दिएको जानकारी दिएका हुन् ।