शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कर्मले बनाएको नाताः ‘मामु’को काखमा फुलेका जीवनहरू ‘जसले जन्म दिइनन्, तर बाँच्न सिकाइन’

कर्मले बनाएको नाताः ‘मामु’को काखमा फुलेका जीवनहरू ‘जसले जन्म दिइनन्, तर बाँच्न सिकाइन’

बैशाख १४, २०८२ आइतवार
बैशाख १४, २०८२ आइतवार
  • कर्मले बनाएको नाताः ‘मामु’को काखमा फुलेका जीवनहरू ‘जसले जन्म दिइनन्, तर बाँच्न सिकाइन’

    सायद नाताको परिभाषा रगतले मात्र होइन, कर्मले पनि निर्धारण गर्छ । आमाबुवा गुमाएका, वा समाजको आँखाबाट हराएका थुप्रै बालबालिकाहरूका लागि एउटा नाम छ—दिक्षा चापागाईं । उनी ‘कर्मकी आमा’ हुन् । जन्म दिनेले छाडेपनि, कर्म दिनका लागि अंगालेकी छन् । ममताको एउटा यस्तो काख जुन रक्तसम्बन्ध भन्दा गहिरो छ । समाजसेवामा सक्रिय दिक्षाले अहिलेसम्म थुप्रै बालबालिकाको जीवन बदलिदिएकी छन् । तीमध्ये तीन छोरीहरू— अंकिता नेपाल, अनु क्षेत्री र आशा राई दिक्षाको काखमा हुर्किएका जीवित कथाहरू हुन् ।

    जसले उनीप्रति सम्मान, प्रेम र कृतज्ञताको भाव बोकेका छन् ।पवित्र समाज सेवा नेपालकी संस्थापक दिक्षा चापागाईं नामले भन्दा कर्मले चिनिने एक समाजसेवी हुन् । उनले कोही नहुँदाको पीडा बुझिन्, अनि त्यो पीडा अरूलाई नहोस् भन्ने प्रण गरेकी छन् । कोही आमाबुवा गुमाएर बेसहारा हुँदा, कोही गुमनाम अतीत बोकेर अनिश्चित भविष्यतर्फ लम्किँदा, उनी एक ढाल भएर अघि सरेकी छन् –आमा बनेर ।

    Ankitas Nepal  .jpg

    दिक्षा मामु नै मेरो संसार हो : अंकिता नेपाल
    अंकिता नेपाल अहिले स्नातक तहमा अध्ययनरत छिन् । उनको विगत धुंधले छ, तर भविष्य भने स्पष्ट छ  । त्यो दिक्षा मामुको कारणले सम्भव भएको हो । ‘मलाई गुफाबाट ल्याउनुभएको हो रे, अंकिता सम्झन्छिन् । ‘हुम्ला मेरो जन्मथलो होला भन्ने सुनेकी छु तर त्यहाँको केही याद छैन, कोही आउने पनि छैन जस्तो लाग्छ ।’

    उनको आवाजमा वेदना लुकेको छ, तर दिक्षा मामुको मायाले त्यो वेदनालाई विश्वासमा रूपान्तरण गरेको छ । ‘दिक्षा मामु नभएको भए, मलाई संसार कस्तो हुन्छ भन्ने थाहा हुन्न थियो,’ उनी भन्छिन्, ‘उहाँ नै मेरो संसार हुनुहुन्छ ।’

    बुवा–आमा नभए पनि मामु नै मेरो सबैथोक हो:  अनु क्षेत्री
    अनु क्षेत्री, अहिले स्नातक तहको पहिलो वर्षमा पढ्छिन् । म कर्णालीको हुँ रे,’ उनले भनिन्, ‘तर म कहाँबाट कसरी यहाँ आएँ, केही थाहा छैन ।’ सामाजिक जीवनको दैनिक दृश्यहरूले उनलाई कहिलेकाहीं आन्तरिक रुपमा पिरोल्छ । उनी भन्छिन् ,‘कोही बाबुको हात समाएर हिँडेको देख्दा, मलाई पनि रहर लाग्छ – काश ! मेरो पनि बुवा हुन्थे भने म पनि त्यसरी हिँड्न पाउँथें होला ।’ तर त्यो अभावलाई ‘मामु’को प्रेमले पूर्ति गरेको छ । ‘हामीले मामुलाई आमाको मुख हेर्ने दिन, बुवाको मुख हेर्ने दिन सम्झन्छौं । सानो कुराले पनि उहाँ खुसी हुनुहुन्छ ।’ 

    शब्दले व्यक्त गर्न नसकिने माया : आशा राई
    आशा राई, अहिले स्नातकको पहिलो वर्षमा छिन् । उनी साढे १ वर्षकी हुँदा दिक्षा मामुले उनलाई काठमाडौं ल्याएकी थिइन् ।
    ‘मलाई केही थाहा छैन,‘आशा भन्छिन्, अहिलेसम्म कोही ‘आफ्नो’ भनेर आएको छैन’। उनी भन्छिन्, ‘फोटो भए पनि हेर्न मन थियो आमाबुबाको, कस्तो हुनुहुन्थ्यो होला भनेर ।’ तर आशा आज सशक्त छिन् – किनभने उनले ‘मामु’को मायामा आफूलाई फेरी जन्मिएको महसुस गरेकी छिन् । उहाँले जति गर्नुभयो, आफ्नै बुबाआमाले पनि त्यति गर्न सक्नुभएन होला । उहाँ नै मेरी आमा, उहाँ नै मेरा बाबा भएको उनी भन्छिन् ।

    कर्मकी आमा दिक्षा 
    दिक्षा चापागाईंका लागि समाजसेवा कुनै पेशा होइन, त्यो त जीवनको उद्देश्य हो । उनले आफ्ना छोरीहरूलाई ’सिर्जना’ मात्र दिएकी छैनन्, ‘पहिचान’ पनि दिएकी छन् । उनको मायाले ती छोरीहरूको जीवनमा उज्यालो भरेको छ । दिक्षा भन्छिन्,‘यी मेरा रक्तसम्बन्धी होइनन्, तर आत्मासम्बन्धी हुन् । मैले जन्म दिएकी होइन, तर कर्म दिएकी हुँ ।’

    आज, अंकिता, अनु र आशा मात्र होइन, यस्ता थुप्रै बालबालिकाहरू दिक्षाको काखमा सुरक्षित छन् । उनीहरूको उज्यालो भविष्यको कारण एकजना महिला हुन् —जसलाई उनीहरू ‘मामु’ भन्छन्, तर वास्तवमा उनीहरूका लागि पूरा संसार’ हुन् दिक्षा चापागाईं ।बुढानिलकण्ठ नगरपालिका–४ मा रहेको टोखा बजार माथि रहेको पवित्र समाज सेवा नेपाल दिक्षाले संचालन गरिरहेको आश्रय स्थल हो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार