शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् ।
आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ । शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।
२० दिनदेखि देशभरका सामुदायिक र सरकारी विद्यालयका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका बेला भट्टराईको राजीनामा आएको हो । विद्यालय शिक्षा ऐनलगायतका विभिन्न माग राखी राजधानीमा आन्दोलित शिक्षकका माग पूरा गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली अनुदार बनिरहेका बेला विभागीय मन्त्रीले पद त्यागेकी हुन् ।
शिक्षकहरूले उठाएका मागहरूबारे यसअघि वैशाख २ गते शिक्षामन्त्री भट्टराई र सभामुख देवराज घिमिरेबीच वार्ता पनि भएको थियो । सभामुखले त्यसदिन मन्त्री भट्टराई र विद्यालय शिक्षा उपसमितिका संयोजक छविलाल विश्वकर्मासँग संवाद गरेका थिए ।
त्यसबेला मन्त्री भट्टराईले मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरेर संसद्को आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक संसदमा पेस गर्ने गरी शिक्षक र सरकारबीच संवाद भइरहेको बताएकी थिइन् । तर उनले यसो भने पनि शिक्षकका माग पूरा गर्ने दिशमा प्रधानमन्त्री ओली अझै सकारात्मक छैनन् ।