काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
आज आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले मिश्र र जबरालाई काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो । उनीहरुलाई बयानपछि अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयले थप पाँच दिन थुनामा राख्न म्याद दिएको प्रहरी परिसर काठमाडौंका एसपी तथा सूचना अधिकारी अपिलराज बोहोराले जानकारी दिए ।
शुक्रबार काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा भौतिक संरचनामा तोडफोड, लुटपाट मच्चाएपछि राप्रपा नेताहरु र पूर्वराजा समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु, दर्जनौं प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए ।