राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले नैतिकताको आधारमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएर संसद्को गरिमा बढेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको आज (बिहीबार) को बैठकमा बोल्दै उनले कसैले नियतवस् गरेको हो भने राजीनामा दिएर पुग्छ कि पुग्दैन ? भन्दै प्रश्न गरेका छन् ।
उनले भने, ‘नैतिकताको आधारमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिले राजीनामा दिनु भएको छ । राजीनामा दिएकै आधारमा सबै कुरा सम्पन्न हुन्छ कि हुँदैन ? नियमवस् कुनै प्रलोभनमा गरिएका कुरा भए नैतिकता देखिएर राजीनामा दिएर पुग्ने हो कि होइन ? नियतवस गल्ती गर्ने व्यक्ति सजायको भागी भएन भने यो प्रक्रियामा जति पनि सांसदहरू हुनुहुन्छ कुनै न कुनै कारणवस् राजीनामा दिने अवस्था आउँछ ।’
उनले भिजिट भिसा प्रकरणमा आफूहरूले सकारात्मक सोचका साथ छानबिन समिति माग गरेको पनि बताएका छन् । आफूहरूको मागअनुसार छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद् बहिष्कार गरिरहने पनि बताए ।