प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिमाप्रति प्रतिशोध साधेको हो भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले एक व्यक्तिमाथि प्रतिशोध साधिएको हो भने अरू कानुन अनुसार थुनामा गएका हुन् भन्ने प्रश्न पनि गरेका हुन् ।
प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘अदालत सरकारको इसारा अनुरूप चल्छ, चल्दै आएको छ त ?‘ उनले भिजिट भिसामा विदेश गएर उतै बसी उतैको नागरिक बन्दै नेपाल फर्केर नयाँ नागरिकता नलिई सांसद र मन्त्री बनेकाले अरूलाई आरोप लगाएको बताए । नाम नलिई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई व्यङ्ग्य गर्दै प्रधानमन्त्री ओलीले भिजिट भिसामा गएर फर्किएकाले अर्कालाई भिजिट भिसामा गएभन्दै प्रश्न गरिरहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् । बैठकमा सम्बोधन गर्दै तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको अवाजा सहरमा भएको सम्मेलनमा गएको र त्यहाँ आफूले गरेको कामबारे जानकारी गराएका हुन् ।
ओलीले सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा सम्बोधन गरेको जानकारी गराए । सम्मेलनका क्रममा एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा सम्बोधन गरेको जानकारी गराए । ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेको समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण भूपरिवेष्टित विकासशील देशहरूले अन्तर्राष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकासको चुनौती सामना गरिरहेको बारे धारणा राखेको बताए ।
प्रत्यक्ष पहुँचका अभावमा विश्वव्यापी बजारबाट उल्लेखनीय लाभ लिन नसकेको, यातायातको विश्वव्यापी सहज सञ्जाल नभएको र खाद्य पूर्वाधार विकास गर्न कठिन रहेको अवस्थामा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सम्मेलन फलदायी भएको ओलीले बताए ।