बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने विषय पेचिलो बनेको छ । काँग्रेस भित्रको आन्तरिक किचलोको कारण मुख्यमन्त्री बानियाँले विश्वासको लिने विषय पेचिलो बनेको हो ।
आज ४ बजे बस्ने बागमती प्रदेशको बैठकमा विश्वासको मत लिने तयारी भइरहेका बेला काँग्रेसका १४ सांसद भने काठमाडौँमा रहेका छन् । पुर्व मुख्यमन्त्री बहादुरसिंह लामा पक्षका सांसद काठमाडौँमै बसेपछि विश्वासको मत लिने बानियाँको योजना अवरुद्ध हुने देखिएको छ ।
बहादुरसिंह लामाले आफुले पछिल्लो समय मन्त्री बनाएका तीन जनालाई निरन्तरता दिने सर्तमा राजीनामा दिएको भएपनि अहिले बानियाँले सो सहमति पालना नगरेसम्म विश्वासको मत नदिने बताएका छन् ।
बागमती प्रदेशमा रहेका १४ मन्त्रालयमा कांग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ मन्त्रालय पाएको छ । एमालेले आफ्नो भागका ६ मन्त्री सरकारमा पठाइसकेको छ भने कांग्रेसले दुई जनामा मात्र मन्त्री पठाएको छ ।
११० सदस्यीय बागमती प्रदेशमा कांग्रेसका ३७ र एमालेका २७ गरि ६४ सांसद रहेका छन्, जुन बहुमतभन्दा बढी छ । त्यस्तै बागमतिमा नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।