भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद बहिष्कार गर्दै आएको रास्वपाप्रति नेपाली कांग्रेसका प्रमुख सचेतकले कटाक्ष गरेका छन् ।
आज (शुक्रबार) को प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसामा गएर विदेशमा घरजम गरेको व्यक्ति स्वदेशमा फर्केर गृहमन्त्री र मन्त्री बनिसकेको भन्दै चिन्ता नगर्न रास्वपासँग आग्रह गरेका हुन् ।
‘भिजिट भिसाको छानबिन माग गरिरहेका रास्वपाका साथीहरू धेरै चिन्ता नगर्नुस्, हामीले अभ्यास गरिसकेका छौं । भिजिटमा बाहिर जाने, त्यही नागरिकता लिने, त्यही घरजम गर्ने, केही समयपछि नेपाल फर्केर दुई-चार वटा काण्ड मच्चाएर पार्टी खोल्ने, गृहमन्त्री हुँदै उपप्रधानमन्त्री बन्ने,’ रास्वपा सभापति रवि लामिछाने र सुमना श्रेष्ठप्रति कटाक्ष गर्दै घिमिरेले भने ।
यसअघि संसद्को बैठकमा गृहमन्त्री रमेश लेखकले लामिछाने स्वयं भिजिट भिसामा अमेरिका गएर उतैको नागरिकता लिएको सूचना रहेको बताएका थिए । कांग्रेस सचेतक घिमिरेले भिजिट भिसामा गएर उतैको पासपोर्ट लिनु गलत काम भएको बताए ।
भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै रास्वपाले शुक्रवारको प्रतिनिधिसभा बैठक पनि बहिष्कार गरेको थियो । बहिष्कार अघि रास्वपा सांसद विनिता कठायतले संसदीय छानबिन समितिको मागमा आफूहरू यथावत् रहेको बताएकी थिइन् ।