सत्तारुढ नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाईंले डा. शेखर कोइरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना नरहेको बताएका छन् । पार्टीका सांसद एवं कोइराला पक्षधर नेताहरूसँगको भेटपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले बैठकमा समसामयिक राजनीतिका अवस्थाबारे छलफल भएको बताएका छन् । बैठकमा नेता कोइरालाले आफूले प्रमुख प्रतिपक्ष दलका नेता र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुको कारणबारे ब्रिफिङ गरेको उनले बताए ।
सरकारले सुशासन कायम गर्न नसकेको, भिजिट भिसालगायतका प्रकरणमा आफ्नो फरक राय रहेको र त्यही कुरा प्रमुख प्रतिपक्षी दलका नेता र एमाले नेतृ भण्डारीसँग राखेको बताएको डा. कोइरालाको भनाइ उद्धृत गर्दै सांसद बजगाईंले जानकारी दिए ।
उनले भने, ‘समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो । डा. शेखर कोइरालाले आफू किन यसरी दौडिरहेको छु भन्नेबारेमा ब्रिफिङ गर्नुभयो । पार्टी फुटाउने चाहना, हर्कत गरिरहनु भएको होइन । किन यसरी मुभ गरिरहनु भएको छ भन्ने प्रश्न भयो । अनुकूलअनुसार भेटेर आफ्नो कुरा राख्नु भएको हो । सुशासनको कुरा भएको छ । संसदमा उठेको भिजिट भिसालगायतका कुराहरूमा राष्ट्रिय मुद्दामा मेरो फरक मत छ, अन्य दलका नेताहरूसँग कुरा राखेको हो भन्ने कुरा राख्नु भएको छ ।’ राष्ट्रिय दलको कुनै नेताले अन्य दलका नेताहरूसँग कुरा गर्नुलाई सामान्य रूपमा लिनुपर्ने उनले बताएका छन् ।