राप्रपाभित्र विआद बढिरहेका बेला तीन पदाधिकारीले उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई विधान विपरीत उपाध्यक्ष र केन्द्रीय सदस्य पदबाट हठात पदमुक्त गर्ने निर्णय अस्वीकार्य भएको बताएका छन् ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय डा. धवलशमशेर राणा र कुन्ती शाहीले आइतबार एक विज्ञप्ति जारी गर्दै स्पष्टीकरणको मौका समेत नदिई वैधानिक व्यवस्था र प्रक्रियाको उपेक्षा र उल्लंघन गर्दै उपाध्यक्ष गिरीलाई पदमुक्त गरेको घटनाले पार्टीको प्रजातान्त्रिक छवीमा आँच आएको भन्दै यस्तो स्वेच्छाचारिता अस्वीकार्य रहेको उल्लेख गरेका छन् ।
उनीहरुले भनेका छन्- एकता महाधिवेशनको म्याण्डेट आत्मसात गर्दै पार्टीको सर्वोपरी हित र एकताको पक्षमा सामुहिक सार्वजनिक अपिल गरेकै कारण उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई विधान विपरीत उपाध्यक्ष र केन्द्रीय सदस्य पदबाट हठात पदमुक्त गरिनु पार्टी जीवनमा दुखद घटनाक्रम हो ।
विधानको व्यवस्था र गरिमा अवमूल्यन गर्दै प्राकृतिक कानुनको सिद्धान्त अनुरुप स्पष्टीकरणको मौका समेत नदिई वैधानिक व्यवस्था र प्रक्रियाको उपेक्षा र उल्लंघन गर्दै उपाध्यक्ष गिरीलाई पदमुक्त गर्ने र पार्टीको प्रजातान्त्रिक छवीमा आँच ल्याउने स्वेच्छाचारिता अस्वीकार्य छ । पार्टी एकता, आन्तरिक प्रजातन्त्र र विधिको शासन अवरोध हुने यस एकलौटी कार्यले देशव्यापी रुपमा पार्टीका साथीहरु र शुभेच्छुकहरुलाई दुखित एवं चिन्तित तुल्याएको छ ।
यस सन्दर्भमा जीवनको उर्जाशील समय पार्टी हितमा व्यथित गरेर गत एकता महाधिवेशन र महाधिवेशन यता महत्वपूर्ण भूमिका र जिम्मेवारी निर्वाह गर्नु हुने नेता मुकुन्द श्याम गिरीलाई विधान विपरीत पदमुक्त गर्ने गल्ती सच्याएर, देशभरीका पार्टीका साथीहरुको भावना समेत मध्यनजर गरेर उहाँलाई पुर्ववत् पदमा कायम राख्न पार्टी नेतृत्वको ध्यानाकर्षण गर्दर्छौ ।
आज पार्टीभित्र पार्टीको आदर्श र सिद्धान्त आत्मसात गरेर सबै एक भएर जान पर्ने आवश्यकता छ । यो समयको माग र चुनौति हो । यस कार्यमा एक आपसमा विश्वास गरेर अगाडि बढौं ।