राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्ता पदबाट बर्खास्त भएका सगुनसुन्दर लावती उजुरी दिन निर्वाचन आयोगमा पुगेका छन् । लावतीले आफू भर्खर आयोगको कार्यालयमा पुगेको र उजुरी दिने तयारी गरिरहेको जानकारी दिए ।
‘म आइसकें, अरू साथीहरू पनि आउँदै हुनुहुन्छ’, सुनाए । उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनअघि मात्र प्रवक्ताको जिम्मेवारीबाट हटाएका थिए । यो निर्णय स्वेच्छाचारी र पार्टीको विधानविपरीत भएको आरोप लगाउँदै शनिबार राप्रपा महामन्त्री धवल शमशेरको संयोजकत्वमा पार्टीको छुट्टै भेला राखिएको थियो ।
भेलाले लावतीलाई प्रवक्ताबाट तथा नवराज सुवेदीलाई राप्रपाको अनुशासन समितिको संयोजकबाट हटाइएकोविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने निर्णय गरेको थियो ।
सोहीबमोजिम यो समूह आज निर्वाचन आयोग पुगेको हो । उता राप्रपाका प्रचार विभाग प्रमुख समेत रहेका अर्का प्रवक्ता मोहनकुमार श्रेष्ठले भने सुवेदीले पार्टी छाडिसकेकाले ‘लोकलाजको ख्याल गर्न’ सुझाव दिएका छन् ।