पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको नेतृत्व लिनकै लागि सक्रिय राजनीतिमा फर्किएको बताएकी बताएकी छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले यो कुरा भनिसकेको र पार्टी सदस्यता लिइसकेको उनले बताएकी छन् ।
सक्रिय राजनीतिमा फर्केको घोषणापछि इमेज टेलिभिजनमा पहिलो पटक अन्तर्वार्ता दिँदै भण्डारीले अहिले नै घोषणा गर्ने समय आइनसकेको तर आफू एमालेको अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएको स्पष्ट पारेकी छन् । पत्रकार जगदिश खरेललाई अन्तर्वार्ता दिने क्रममा पूर्व राष्ट्रपति भण्डारीलाई खरेलले एमालेमा फर्किनुको लक्ष्य अध्यक्ष बन्न हो भनेर प्रश्न गरेका थिए ।
जबाफमा उनले भनिन्, ‘तपाईंले भनेको कुरामा सत्यता छ । ११ औं महाधिवेशन तोकिएको छैन । तर यो सार्वजनिक बहसको विषय भइसक्यो । मेरो कुरा त्यही लाइनतिरै जान्छ । समय आउनु पर्यो नि !’ एमालेको नेतृत्व लिनकै लागि सक्रिय राजनीतिमा फर्किएको हो भन्ने खरेलको प्रश्नमा भण्डारीले भनिन्, ‘त्यसमा कुनै सन्देह छ र ?’ दुई कार्यकाल राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा फर्केर अब प्रधानमन्त्री बन्ने हो भन्ने खरेलको प्रश्नमा भण्डारीले आफू सबै विकल्पका लागि खुला रहेको बताएकी छन् । ‘पूर्व राष्ट्रपतिले लिने सबै सुविधा परित्याग गरेर म जनताको सेवा गर्न र राष्ट्रिय आकांक्षा पूरा गर्न आएकी हुँ । यो वा त्यो भन्ने बेला भएको छैन । जे गर्दा देशलाई राम्रो हुन्छ, त्यही गर्ने हो,’ उनले भनिन् ।
५५ मिनेट लामो अन्तर्वार्तामा खरेलले भण्डारीलाई प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीका बारे, कांग्रेस सभापति शेरबहादुर देउवाले उनको राजनीतिमा भएको पुनरागमनबारे राखेको धारणाबारे सोधेका थिए । पार्टी अध्यक्षमा ओली अझै दोहोरिने विश्वास आफूलाई नभएको बताउँदै उनले भनिन्, ‘उहाँ दुई कार्यकाल अध्यक्ष भइसक्नु भयो । मैले चिनेको केपी ओली अझै मै हुन्छु भन्ने खालको होइन । एउटै कक्षाको जाँच दोहोर्याएर दिन्नँ भन्ने मान्छे हो उहाँ । उहाँ अध्यक्षमा दोहोरिनु हुन्न भन्ने मेरो विश्वास छ ।’
अध्यक्ष ओलीले राजनीतिमा भएको आफ्नो आगमनलाई स्वागत नै गरेको दाबी गर्दै भण्डारीले उनीसँग निरन्तर संवाद भइरहेको बताएकी छन् । ‘उहाँसँग निरन्तर संवाद भइरहेको छ,’ उनले भनिन्, ‘मेरो निर्णयलाई उहाँले हार्दिक रूपमा लिएको ठानेकी छु । सकारात्मक छ, ठीक छ भन्नु भएको छ ।’ एकै जना व्यक्तिले नेतृत्व सधैं धानिरहन नसक्ने उल्लेख गर्दै उनले आफ्नो टिमको कसैलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताइन् । कांग्रेस सभापति देउवाले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउँदा प्रणालीमा समस्या आउने बताएको र ओलीले एमालेको संस्थगत चाहना बेगरै भण्डारी राजनीतिमा आउन लागेको बताएका थिए । त्यसबारे भण्डारीले आफू नेपालको छोरी भएको र अहिले राजतन्त्रात्मक व्यवस्था नभएको उल्लेख गर्दै आफ्नोबारे किन छलफल भयो भन्नेमै आश्चर्य लागेको बताइन् ।