सभामुख देवराज घिमिरेले निजामती, शिक्षा जस्ता संघीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सहभागी हुन रास्वपा र राप्रपालाई अनुरोध गरेका छन् ।
आजको प्रतिनिधि सभाको बैठकअघि प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफलमा सभामुख घिमिरेले सहमति र सहकार्यको माध्यमबाट निजामती, शिक्षा जस्ता संघीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सहभागी हुन रास्वपा र राप्रपालाई आग्रह गरेका हुन् ।
सभामुखले महत्त्वपूर्ण विधेयकमा संसदका प्रमुख दलहरू छुट्नु राम्रो नभएको बताएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।आजको प्रतिनिधि सभामा संघीय निजामती सेवा विधेयक, २०८० छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।
सरकारले भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका सम्बन्धमा छानबिन गर्नका लागि पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेपनि त्यस समितिलाई रास्वपा र राप्रपाले अस्वीकार गर्दै संसदमा विरोध गर्दै आएका छन् ।