प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । सदनको अवरोध हटाउने विषयमा ओलीले फोन गरेका हुन् ।
नयाँ वानेश्वरमा विपक्षी दलको बैठक बसिरहेका बेला ओलीले फोन गरेका थिए । प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने जवाफ दिएको जानकारी छ। ओलीले गृहमन्त्रीले जवाफ दिने बताएका छन् ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको छ । बुधबार बिहान बालुवाटारमा बसेको बैठकले गृहमन्त्रीले राजीनामा नदिने बरु सदनमा जवाफ दिने निष्कर्ष निकालेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री लेखकसहित दुवै दलका प्रमुख सचेतक सहभागी थिए ।
साथै आजको संसद बैठकमा गृहमन्त्रीले आफूमाथि उठेका विषयमा जवाफ दिने र त्यसका लागि सभामुखसमक्ष समय माग्ने निर्णय भएको बैठकमा सहभागी एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रधानमन्त्रीसँगको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक साथै एमालेबाट मुख्य सचेतक बर्तौला उपस्थित थिए ।