नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायकको रूपमा चिनिएको कम्पनी इसेवामा गत सोमबार दिउँसो प्राविधिक समस्या देखा परेको थियो। धेरै प्रयोगकर्ताहरूले इसेवाको मोबाइल एप तथा वेबसाइट खोल्दा लगइन नहुने वा लगइन भएपछि पनि कारोबार गर्दा समस्या अनुभव गरेका थिए।
उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा थुप्रै चर्चा, टिप्पणी, आलोचना तथा कौतुहलता सिर्जना भएको छ । कतिपय सर्वसाधारण तथा प्रयोगकर्ताहरू इसेवा ह्याक हुने तथा इसेवाको सुरक्षा प्रणाली फितलो रहेको जस्ता खबरहरूको सिकारसमेत भएको पाइएको छ।
तर यो समस्या इसेवाको सुरक्षा प्रणालीको कारणले नभएर इसेवाको सर्भर तथा सिस्टम अपग्रेडको काम भइरहेको हुँदा त्यो समयमा उपस्थित सामान्य प्राविधिक समस्या रहेको इसेवाका उच्च तहका प्राविधिकले जानकारी गराएका छन् ।
नेपालको धेरै जसो कम्पनीहरूमा परम्परागत डाटाबेसको प्रयोग गर्ने गरिएको हुन्छ। इसेवाले पनि सोही प्रविधि प्रयोग गर्दै आइरहे पनि भविष्यमा यस प्रविधिको सीमितताहरू महसुस गर्दै केही समय अघिदेखि आफ्नो डाटाबेस अपग्रेडको कार्य सुरु गरेको जनाएको छ । त्यसको लागि इसेवाले विश्व प्रख्यात क्यासान्ड्रा डाटाबेसको सिस्टम भित्र्याएकोसमेत जानकारी दिएको छ।
संसारभर सुरक्षा तथा प्रभावकारिताको लागि चिनिएको क्यासान्ड्रा डाटाबेस संसारभरि अप्लाई पे, एनपीसीआई (नेशनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया), अमेरिकन एक्सप्रेस (एएमएक्स), फेसबुक, इन्स्टाग्राम, टाइफ तथा नेटफ्लिक्स लगायतका धेरै मात्रामा डाटा प्रोसेसिङ गर्ने कम्पनीहरूले प्रयोग गर्छन् ।
परम्परागत डाटाबेस जस्तो एकै बिन्दुबाट मात्र नभएर एकभन्दा बढी साइट (डाटा सेन्टर) बाट सञ्चालन हुने गर्दा यो सिस्टम अत्यन्तै राम्रो, प्रभावकारी र सुरक्षित मानिन्छ। यसै सिस्टम अपग्रेडको क्रममा स्रोतहरूको अत्यधिक प्रयोगका कारण उक्त प्राविधिक समस्या उत्पन्न भएको थियो।
इसेवाले अग्रगामी सोचले भविष्यमा आइपर्न सक्ने डाटाबेस तथा सुरक्षा सम्बन्धी सीमाहरूलाई ध्यानमा राखेर आफ्नो सिस्टम विस्तार तथा अपग्रडको कार्य गरिरहेको जनाएको छ ।
इसेवामा हाल देखा परेको समस्या सोही कारणले गर्दा भएकोले इसेवाको भविष्य र सुरक्षा सम्बन्धी फैलिरहेको अफुवाहरुको विश्वास नगर्न इसेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्यले प्रयोगकर्ता तथा सर्वसाधारणहरूलाई आग्रह गरेका छन् ।
साथै निकट भविष्यमा सिस्टम अपग्रेडको क्रममा यस्ता समस्याहरू उत्पन्न हुन नदिन थप सतर्कता अपनाउने बारेमा पनि प्रमुख रणनीतिक अधिकारी शाक्यले बताएका छन्।