नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेले, एशियन पेमेन्ट नेटवर्क (एपीएन) को २१औँ फोरमको पहिलो बैठक सम्पन्न गरेको छ । काठमाडौंको हिल्टन होटलमा मे ६ र ७ मा बसेको बैठकले नेपालको डिजिटल भुक्तानी नवप्रवर्तनमा क्षेत्रीय केन्द्र बन्ने यात्रामा एक ऐतिहासिक उपलब्धि हासिल गरेको निष्कर्ष निकालेको छ । कार्यक्रममा एशियाका १४ सदस्य राष्ट्रहरूबाट प्रतिनिधिहरू सहभागी थिए।
दुई दिनसम्म चलेको फोरमको बैठकले एशियाका प्रमुख भुक्तानी नेटवर्कहरूबीच सहकार्य, ज्ञान आदानप्रदान, र रणनीतिक संवादको मञ्च प्रदान गरेको थियो। यस फोरममा उच्चस्तरीय छलफल, जानकारीमूलक प्रस्तुतीकरणहरू र सदस्य राष्ट्रहरूबीचको डिजिटल वित्तीय सहकार्यलाई मजबुत पार्ने उद्देश्यले विभिन्न सत्रहरू सञ्चालन गरिएका थिए।
फोरमको पहिलो दिन एपीएनको वार्षिक साधारणसभा सम्पन्न भयो, जसमा प्रमुख कार्यसूचीहरू अन्तर्गत एपीएन चार्टरमा अद्यावधिक, कार्ड र नन-कार्ड सीमापार भुक्तानी पहलहरूको प्रगतिबारे जानकारी र उप-समितिहरूका नयाँ पदाधिकारीहरूको चयन गरिएको थियो। जसमा फिलिपिन्सको ब्यान्सनेट नयाँ अध्यक्ष पदमा चयन गरियो भने नेपालबाट फोनपे उपाध्यक्ष पदमा चयन गरिएको थियो ।
फोरमको समापन मे ७ मा फ्रड जोखिम व्यवस्थापन, सिकिएका पाठहरू र सीमापार भुक्तानी एकीकरणसम्बन्धी प्यानल छलफलहरू गरिएका थिए। यी सत्रहरूमा फोनपेले क्षेत्रीय सहकार्यको आफ्नै अनुभवबाट मूल्यवान जानकारी प्रस्तुत गर्दै सुरक्षित र मापनीय भुक्तानी इकोसिस्टम विकासमा विश्वास, नियामक समन्वय र प्रविधिको भूमिकालाई जोड दिएको थियो।