विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ ।
माछापुच्छ्रे बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग सहकार्य गरी विधिवत् रुपमा रेमिट्यान्स सेवाको शुरुआत गरेको हो ।
बैंकले बिहीबारका दिन कुवेतस्थित होटल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमको आयोजना गरी अल मुजैनी एक्सचेन्जसँग औपचारिक रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीको उपस्थितिमा सम्पन्न उक्त औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं कुवेतस्थित अल मुजैनी एक्चेन्जका महाप्रबन्धक ह्युज फर्नान्डेसले सम्झौता एकआपसमा हस्तान्तरण गरेका हुन् ।
कुवेतस्थित नेपाली राजदूतावासका लागि कार्यवाहक राजदूत सुजनी राणाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामालगायत गैर आवासीय संघका प्रतिनिधिहरु, कुवेतस्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुलगायत कुवेतमा कार्यरत थुप्रै नेपालीहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा बैंकले तयार पारेको बैंकको कभर गीत सार्वजनिक गरेको थियो । बैंकका पूर्व सञ्चालक हरिभक्त सिग्देलले रचना गरेको उक्त कभर गीत बैंकका सञ्चालक समितिका अध्यक्ष केसी एवं कार्यवाहक राजदूत राणाले संयुक्तरुपमा सार्वजनिक गरेका थिए ।
सार्वजनिक गरिएपश्चात उक्त गीत बैंकले आफ्ना सम्पूर्ण सामाजिक सञ्जालहरुमा प्रशारण–प्रकाशन गर्नेछ । माछापुच्छ्रे बैंकले कुवेतमा उक्त सेवा शुरुआत गरे पश्चात अब कुवेतमा रहेका नेपालीहरुले कुवेतस्थित अल मुजैनी एक्सचेन्जका १४५ वटा शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिनेछ ।
साथै बैंकले अल मुजैनी एक्सचेन्जबाट पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाएको छ ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत १७ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको बैंकले जनाएको छ ।