नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बिहीबार सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका छ्न । राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।
त्यसक्रममा पन्तले शिक्षकहरू २३ दिनदेखि आन्दोलनरत रहेको जनाउँदै उक्त समस्या समाधानका लागि सबै शक्ति लगाउने बताएका छ्न । ‘भर्खरै त मन्त्रालयमा आएँ, समस्याबारे जानकारी पाएको छु । सबै विषयमा जानकारी लिइसकेको छैन’, उनले भने, ‘शिक्षकका माग र समस्याबारे राम्ररी जानकारी लिइसकेपछि विस्तृतमा आफ्नो विचार व्यक्त गरौँला ।’
पन्तले आफूले पहिलेबाटै शिक्षकहरूलाई सडकमा राख्न नहुने बताइरहेको पनि स्मरण गराए । ‘शिक्षकहरूलाई सडकमा राख्नु हुँदैन भन्दै आएको छु । म उहाँहरूलाई घर फर्काउने गरी समस्याको समाधान गर्न प्रयत्न गर्ने छु ।’ उनले बिहीबार पदभार ग्रहण गर्दै शिक्षक आन्दोलनबारे मन्त्रालयले गरेको पहललाई धन्यवाद दिए ।
काठमाडौंको माइतीघर बानेश्वरकेन्द्रित भएर २३ दिनदेखि शिक्षक आन्दोलन जारी छ । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आएका छन् ।