प्रमुख प्रतिपक्षी नेकपा माओवादीका सांसद माधव सापकोटाले प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । आज आइतबार संसद भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
सांसद सापकोटाले सत्तापक्षीय सांसदहरु भौतिक रुपमै हमला गर्ने गरी सदनमा प्रस्तुत भएको आरोप लगाए।सापकोटाले संसदमा विपक्षी सांसदभन्दा उग्र भएर सत्तापक्षका सांसदहरुले भौतिक रुपमै हमला गर्ने क्रियाकलाप गरेको आरोप लगाएका हुन् । उनले तीनकुनेमा भएको व्यवस्था विरोधी घटनाका बारेमा प्रधानमन्त्रीले संसदमार्फत सम्बोधन गरेर व्यवस्थाप्रति विश्वास आर्जन गर्नुपर्ने बताए ।
‘आज प्रधानमन्त्रीले संसद्मा आएर सबै घटनाक्रमका बारेमा देशलाई अपिल गर्ने, गणतन्त्रवादीलाई एकताबद्ध गराउने र यो व्यवस्थाका बारेमा विश्वास आर्जन गर्ने एउटा ठूलो अवसर थियो । यति ठूलो कुरा संसदमा नआएर प्रधानमन्त्री कहाँ अल्मलिरहनु भएको छ? यसले के देखाउँछ भने यो व्यवस्थालाई रक्षा गर्नका निमित्त, यो व्यवस्थालाई सुदृढ गर्नका निमित्त, विधि मूल्य मान्यतालाई सुदृढ गरेर अगाडि लैजानका लागि प्रधानमन्त्री जिम्मेवार हुनुहुन्न,’ उनले भने ।
सांसद सापकोटाले गणतन्त्रवादीलाई एकताबद्ध गरी व्यवस्था सुदृढ बनाउनु पर्नेमा प्रधानमन्त्री अन्तै अल्मलिएको जिकिर गरे । उनले प्रधानमन्त्रीले उच्छृंखल र अराजकतालाई मलजल गरेको आरोप लगाए । व्यवस्थाविरोधी तीनकुने घटनामा मान्छेलाई थुनेर आगो लगाएर हत्या हुँदा समेत प्रधानमन्त्रीले कुनै सम्बोधन नगरेर लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउने अवसर गुमाएको उनको भनाइ छ ।