मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए) नेपालले १५ करोड ४५ लाख अमेरिकी डलर (२१ अर्ब ६३ करोड रुपैयाँ) को प्रसारण लाइन निर्माण सम्झौता गरेको छ । आज (बिहीबार) काठमाडौंमा आयोजित कार्यक्रममा एमसीए नेपाल र निर्माण पक्षबीच सम्झौता भएको हो ।
संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको हो ।
जसअनुसार एमसीए नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित कम्प्याक्टको विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा आज दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरेको छ । नेपालमा सञ्चालन भइरहेका रूपान्तरणकारी पूर्वाधार निर्माणसम्बन्धी आयोजनाका लागि यो महत्त्वपूर्ण उपलब्धि भएको एमसीए नेपालले जनाएको छ ।
जसअनुसार एमसीए नेपालले रातमाटे– नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता एञ्जेलिक स्किपर जेभी (संयुक्त उपक्रम)सँग र नयाँ दमौली– नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा सलासर जेभी (संयुक्त उपक्रम) सँग गरेको हो ।
अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसीका कार्यवाहक उपाध्यक्ष, एमसीसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधिहरू, अमेरिकी दूतावासका अधिकारीहरूको उपस्थितिमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधिहरूले बिहीबार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापत्रमा दुवै प्रसारण लाइन निर्माणको काम ४२ महिनाभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ । संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर (करिब साढे २१ अर्ब नेपाली रुपैयाँ) रहेका यी सम्झौता अन्तर्गत १८० किमि लामो ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालनलगायतका काम हुनेछ ।
एमसीए नेपालका सञ्चालक समितिका अध्यक्ष एंव अर्थ सचिव घनश्याम उपाध्यायले प्रसारण लाइन र सवस्टेशन निर्माणसम्बन्धी नेपाल सरकारको योजनालाई कार्यान्वयन गर्न अमेरिकी सरकारबाट प्राप्त आर्थिक सहयोग निकै महत्वपूर्ण रहेको बताएका छन् । यस कार्यक्रमका लागि नेपाल सरकारले पनि निरन्तर रुपमा सहयोग गरेर समयमै आयोजना सम्पन्न गर्नका लागि लागि पर्ने उनले बताए । नेपालको उर्जा क्षेत्रको विकास र विस्तारका क्रममा यी प्रसारण लाइन कोशेढुंगा सावित हुने उनको भनाइ थियो ।
नेपाल सरकारले नेपाल र अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसनको सह–लगानीमा कार्यान्वयन गरिने कार्यक्रमको जिम्मेवार निकायका रूपमा विकास समिति ऐन, २०१३ अन्तर्गत २०७५ साल वैशाख ५ गते एमसिए–नेपाल स्थापना गरेको हो ।
‘आज भएको निर्माण सम्झौता एउटा उपलब्धि मात्र नभई नेपालको विकास र समृद्धिप्रति संयुक्त राज्य अमेरिकाको स्थायी प्रतिबद्धताको मूर्त प्रतीक हो,’ नेपालस्थित अमेरिकी दूतावासका नियोग उप–प्रमुख जेसन मीक्सले भने, ‘यस साझेदारीमार्फत हामी विद्युत् प्रसारण लाइन र आर्थिक पूर्वाधार मात्र निर्माण गरिरहेका छैनौं, नेपालको दीर्घकालीन विकासलाई पनि तीव्र पारिरहेका छौं ।’
एमसीए नेपालका कार्यकारी निर्देशक विष्टले भने, ‘कम्प्याक्टलाई अघि बढाउन अमेरिकी सरकारबाट भइरहेको निरन्तर सहयोग र पछिल्लो अनुमतिको हामी सराहना गर्छौं । आजको यो महत्वपूर्ण उपलब्धिमा यस राष्ट्रिय गौरव आयोजनाप्रति नेपाल सरकार र सबै सरोकारवालाको साझा प्रतिबद्धता प्रतिविम्बित भएको छ ।’ । एमसीए नेपालले दिगो सहकार्य गर्दै आयोजना अन्तरगतका कार्यक्रम सफल निर्माण तथा कार्यान्वयनमा केन्द्रित रहने विष्टले बताए ।
एमसीसी नेपाल कम्प्याक्ट निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण निर्माण गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका लागि गरिएको ६९ करोड ७० लाख डलरको लगानी ऐतिहासिक भएको बताइएको छ । जसअन्तर्गत विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्त्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तरआवद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पुर्याउन एमसीसी नेपाल कम्प्याक्ट तयार रहेको जनाइएको छ ।