राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले भिजिट भिसाबाट प्रधानमन्त्री सहभागी भएको कार्यक्रममा स्पेन गएकाहरू नफर्किएको पुष्टि भइसकेको दावी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै भिजिट भिसा प्रकरणको छानबिन गर्नको लागि संसदीय छानबिन समिति बनाउन माग गरे ।
उनले भने, ‘प्रधानमन्त्रीसँग नगएको भए पनि उहाँ गएको कार्यक्रममा गएकाहरू नफर्केको पुष्टि भइसकेको छ । यसको छानबिन गरौं, संसदीय छानबिन समिति बनाउन यो सरकार किन डराएको ? संसदीय छानबिन समितिको माग हाम्रो अडान छ ।’ भिजिट भिसा प्रकरणको छानबिन गर्नको गर्न समिति नबनेसम्म आन्दोलन नछाड्ने बताए । भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रूपमा आर्थिक लेनदेन हुने गरेको र यस सम्बन्धमा विगतदेखि नै संसद्मा कुरा उठ्दै आएको तर, गम्भीर नभएको उनको आरोप छ ।
यस्तै आज बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि यसमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे । उनले किन संसदीय छानबिन समिति गठन गर्न सरकार डराएको ? भन्दै प्रश्न समेत गरेका छन् । उनले भने, ‘भर्खरै प्रधानमन्त्रीसँग भ्रमणमा गएका, उनीसँग नगए पनि उहाँको कार्यक्रममा जाने भनेर गएकाहरू मान्छेहरू फर्किएका छैनन् भन्ने पुष्टि भइसक्यो, यसको छानबिन गरौँ, संसदीय छानबिन बनाउन यो सरकार किन डराएको हो ?, छानबिन समितिको हामी माग गर्छाैं ।’