मिडिया र कर्पोरेटको दुनियाँमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल एक नाम हो विशाखा लक्ष्मी खड्का । नेपाल कै पहिलो निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलको केन्द्रीय कार्यालयमा एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्टस् विभाग प्रमुखको रूपमा कार्यरत छिन् र कम्पनीको कर्पोरेट कम्युनिकेशन पनि सम्हाल्छिन् ।
करिब दुई दशक लामो अनुभवले उनीलाई कर्पोरेट रणनीति र सञ्चार व्यवस्थापनमा दक्ष बनाएको छ । देशकै एक ठूलो कर्पोरेटसँग आवद्धरही उनले नेपालमा मिडियाको विकास र विस्तारमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा योगदानका साथै व्यवसायिक सामाजिक जिम्मेवारी (सीएसआर)पहलहरुमार्फत एनसेललाई एक सामाजिक रुपमा जिम्मेवार कर्पोरेट नागरिकको रुपमा स्थापित गराएकी छिन् ।
एनसेलले आफ्नो संचालक समितीका अध्यक्ष सतिशलाल आचार्यको नेतृत्व र सोच अनुसार सामाजिक पहलहरुलाई सधै उच्च प्राथमिकतामा राख्दै आएको छ । एनसेल फाउन्डेसनको स्थापना यही सोचमा आधारित रहेको छ । कम्पनीले स्वास्थ्य, शिक्षा, वातावरण, कला, संस्कृति संरक्षण तथा प्रवर्धन, डिजिटल पहुँच, विपद् प्रतिकार्य तथा पूर्वतयारी, लगायतका क्षेत्रहरुमा प्रभावकारी सामाजिक पहलहरु कार्यन्वयन गर्दै आएको छ ।
कम्पनीले सामाजिक क्षेत्रमा गरेका महत्वपूर्ण कार्यहरु र ती कार्यहरुमा नेतृत्वको सम्मान गर्दै गत वर्ष बेलायतको वुमन्स ट्याब्लोइड अवाड्र्सले खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर – टेलिकम’ अवार्ड प्रदान गरेको थियो । उनको नेतृत्वमा एनसेल फाउन्डेसनले देशभर १०० भन्दा बढी सामाजिक परियोजनाहरू कार्यान्वयन गरिसकेको छ । कोटेश्वर–कलंकी सडक खण्डको हरियाली विकास, धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन कार्यक्रम र ६० सरकारी विद्यालयमा डिजिटल आईटी ल्याबको स्थापना केही ज्वलन्त उदाहरण हुन् ।
नेपालका विभिन्न प्रतिष्ठित कर्पोरेट संस्थामा कार्य गर्दै संस्थागत सञ्चार रणनीतिमा निपुणता हासिल गरेकी खड्काले, लाहोरस्थित पञ्जाब विश्वविद्यालयको स्कुल अफ कम्युनिकेशन स्टडिज्बाट प्रिन्ट मिडिया तथा अनुसन्धानमा स्नातकोत्तर गरेकी छिन् । नेपाल रैबार डटकमका लागि जीवन बनियासँगको कुराकानीमा खड्काले फाउन्डेसनका हालका कार्यक्रमहरूको प्रभाव, समुदायसँगको सहकार्य र भविष्यका योजनाहरूको सूक्ष्म विवरण प्रस्तुत गरेकी छन् । उनीसँग गरिएको कुराकानीको सम्पादित अंश-
मिडिया र कर्पोरेटसँगको झण्डै दुई दशकको यात्रा तपाईँका लागि कस्तो रह्यो?
पाकिस्तानको अध्ययनदेखिको मेरो यात्रा निकै अर्थपूर्ण रह्यो। जब म पाकिस्तानको लाहोर पुगेँ, त्यहाँ मैले छात्रवृत्तिमा मास कम्युनिकेसन एन्ड मिडियामा स्नातकोत्तर अध्ययन गरें। अध्ययनकै सिलसिलामा द नेशन पत्रिकामा भ्याकेन्सी खुलेको रहेछ । मैले आवेदन दिएँ र काम गर्ने अवसर पाएँ । त्यहाँ म सोसल रिपोर्टिङमा संलग्न भएँ र ६ वर्षसम्म काम गरें । पाकिस्तानको समाज, वातावरण, मिडियाको लर्निङ कल्चर, शिक्षा प्रणाली, र कार्य वातावरण अत्यन्तै सबल थियो । करिब ९० वर्ष पुरानो संस्थामा म एक नेपाली प्रतिनिधिको रूपमा काम गर्न पाएकोमा गर्व लाग्छ ।
पारिवारिक कारणले गर्दा म नेपाल फर्किएँ । नेपाल फर्किएपछि मैले करिब ११ महिना चौधरी ग्रुपमा काम गरें । त्यसपछि केही समय बालबच्चाको हेरचाहको कारण विश्राम लिएँ । अनि गोर्खा ब्रुअरीमा कम्युनिकेशन म्यानेजरको रूपमा जोडिएँ, सन् २०१३ देखि २०१९ सम्म कार्यरत रहँदा उक्त अवधिमा विभिन्न कर्पोरेट संस्थाहरूसँग काम गर्न पाउँदा धेरै कुराहरू सिक्ने अवसर मिल्यो । त्यो समयमा नेपालमा मिडियामा काम गर्ने चाहना त थियो । पाकिस्तानमा मिडिया क्षेत्रमा काम गरेको भएता पनि अवसर हेर्दै गर्दा नेपालमा कर्पोरेट सेक्टरमा अवसर प्राप्त भयो । जब मैले कर्पोरेट क्षेत्रमा पाइला टेकेँ, अनलाइनहरू खासै थिएनन । विस्तारै विभिन्न सञ्चारमाध्यमहरू स्थापना हुँदै, संचालनमा आउँदै गए । सञ्चार जगतका साथीहरूसँग सम्बन्ध विस्तार हुँदै जाँदा काम गर्न अझै सहज भयो ।
सन् २०१९ मा मैले एनसेलमा कर्पोरेट कम्युनिकेशन र सीएसआर हेर्ने जिम्मेवारीका साथ प्रवेश गरें, र अहिले पनि कर्पोरेट कम्युनिकेशन तथा एनसेल फाउन्डेनमार्फत सीएसआर विभागको प्रमुखको रूपमा कार्यरत छु । एनसेलमा मेरो अनुभव एउटा बच्चा एकैपटक ठूूलो भएको जस्तो हो-त्यहाँ मैले देश विकास, मिडिया उद्योगको सशक्तीकरण लगायतका विविध पक्षहरू सिकें। र, कम्पनीलाई सामाजिक उत्तरदायित्वमार्फत चिनाउन पाउँदा बेग्लै सन्तुष्टि मिल्दो रहेछ । समग्रमा भन्नुपर्दा मिडिया र कर्पोरेटसँगको झण्डै दुई दशक लामो यात्रा मेरो लागि निकै समृद्ध, शैक्षिक र सन्तोषजनक रह्यो ।
एनसेलले पहिला पनि सामाजिक कार्यहरू गर्दै आएको थियो, तर ‘एनसेल फाउन्डेसन’को आवश्यकता किन महसुस गरियो?
एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी अर्थात सीएसआर अन्तर्गतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको झन्डै दुई दशक भयो । सुरूवातको चरणदेखि नै हामीले विद्यालयहरूमा सहयोग पुर्याउने, वृक्षारोपण गर्ने जस्ता विविध सामाजिक कार्यहरू गर्दै आएका थियौँ। हामी अझ सक्रिय र सशक्त रूपमा अघि बढ्न थालेको सन् २०१० पछि हो ।
नेपाल सरकारले सन् २०१९ मा एउटा नयाँ व्यवस्था लागू गर्योे, जसअनुसार १५ करोड रुपैयाँभन्दा माथिको वार्षिक कारोबार गर्ने कम्पनीहरूले आफ्नो वार्षिक नाफाको १% सामाजिक कार्यका लागि छुट्याउनु पर्ने व्यवस्था गरियो । त्यसपछि हाम्रो लागि सामाजिक उत्तरदायित्वलाई अझै राम्रोसँग अगाडि बढाउने वातावरण सिर्जना भयो । यद्यपि यो व्यवस्था भन्दा पहिलैदेखि हामीले सामाजिक कार्यहरू सशक्त्त रुपमा गरिरहेका थियौँ। जब सीएसआर कानुनी रुपमा स्पष्ट स्थापित भयो, तब हामीले अझ विस्तारित सोचका साथ व्यापक रूपमा काम गर्न थाल्यौँ । सीएसआर भन्ने कुरा हाम्रो लागि नयाँ होइन-हामीले यसलाई अझ प्रभावकारी, रणनीतिक र संस्थागत रूपमा अगाडि बढाएका हौँ।
एनसेल फाउन्डेसनले कुन–कुन क्षेत्रलाई प्राथमिकतामा राखेर सामाजिक कार्य गर्दै आएको छ?
सामाजिक उत्तरदायित्वको मूल मन्त्र भनेकै दिगो र समावेशी विकास हो । त्यसैले, एनसेल फाउन्डेसनले औद्योगिक व्यवसाय नियमावलीमा उल्लेख भए बमोजिमका आठ क्षेत्रहरूमा निरन्तर रूपमा कार्य गर्दै आएको छ । ती क्षेत्रहरूमा स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्य, जीविकोपार्जन सहयोग, डिजिटल समावेशिता, सामाजिक समावेशिता, संस्कृति संरक्षण र जनचेतना अभिवृद्धि पर्दछन् ।
हामीले पाँच प्रमुख क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै आएका छौं ।
१. स्वास्थ्यः हामीले ग्रामीण तथा दुर्गम क्षेत्रका समुदायहरुमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन र स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिका लागि विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएका छौं। कोभिड महामारीको बेला, हामीले १० अर्ब रुपैयाँ बराबर प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याएका थियौँ। सरकारको कोभिड कोषमा योगदान, विभिन्न सेवाहरुमा छुट, तथा अक्सिजन कन्सन्ट्रेटरहरू उपलब्ध गराउँदै तत्कालीन संकटको सामना गर्न सघाएका थियौँ । हामीले धुलिखेल अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको टेलिमेडिसिन एन्ड हेल्थ इन्फरमेटिक्स साउथ एसियामा नै नमुना कार्य हो । त्यसैगरी विभिन्न स्वास्थ्य सम्बन्धि कामहरुमा जनचेतना फैलाउँदै सेवामा पहुँच प्रदान गरेका छौं ।
२. शिक्षाः हामीले शिक्षा क्षेत्रमा उल्लेखनीय लगानी गरेका छौं। विगतका वर्षहरूमा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेका थियौँ । फेरी त्यस्ता कार्यक्रम पुनः सुरु गरेका छौं । देशै भरिका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा ६० वटा आधुनिक डिजिटल ल्याबहरूको निर्माण गरिएको छ जुन ल्याबको नियमित निरीक्षण र अनुगमन पनि भइरहेको छ । डिजिटल शिक्षामार्फत् सीपमूलक तालिम प्रदान गर्दै नयाँ पुस्तालाई सशक्त बनाउने उद्देश्यमा हामी समर्पित छौं ।
३. वातावरण संरक्षणः जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरूसँग जुध्न हामी हरियाली अभियान तथा प्रदूषण न्यूनीकरणजस्ता कार्यहरूमा संलग्न छौं । जनकपुरधाममा व्यापक वृक्षारोपण गरेका छौं, कोटेश्वर–कलंकी सडक खण्ड एक उत्कृष्ट नमुना बनिसेको छ । दुवैतर्फ गरि २० किलोमिटर क्षेत्रमा हरियाली विकास गरेका छौं । बागमति कोरिडोरमा ललितपुर महानगरपालिकाको सहकार्यमा वृक्षारोपण भएको छ । लैनचौर मैदान रुख विरुवा सहितको आधुनिक बहुआयामिक मैदान बनेको छ ।
४. विपद् व्यवस्थापनः भूकम्प, बाढी, पहिरो तथा महामारीजस्ता संकटहरूको समयमा तत्काल सहायता पुर्याउनुका साथै दीर्घकालीन पुनःस्थापनाका लागि समेत हामी अग्रसर रहदै आएका छौं ।
५. आजीविकोपार्जन तथा आर्थिक सशक्तिकरणः हामी सीप विकास, उद्यमशीलताको प्रवद्र्धन, र स्थानीय रोजगारी सृजनाका माध्यमबाट समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने लक्ष्यमा काम गरिरहेका छौं । त्यसैगरी, संस्कृति र कलाको संरक्षण पनि हाम्रो प्रमुख केन्द्रमा रहेको छ । हामीले आफ्नो मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्नु सामूहिक जिम्मेवारी हो भन्ने सोचका साथ सांस्कृतिक अभियानहरूलाई निरन्तर सहयोग गर्दै आएका छौं। भर्खरै सम्पन्न रातो मच्छिन्द्रनाथको जात्रामा ललितपुर महानगरपालिका र ज्यापु समाज ललितपुरसँग सहकार्य गर्दै सहभागी भएका थियौँ। त्यस्तै, विगतमा कार्तिक नाच, जनकपुर भूमि लोक महोत्सव, तथा विभिन्न प्रदेशस्तरीय मेला, महोत्सव र जात्राहरूमा समेत सहयोग पुर्याएका छौं। आगामी दिनहरूमा देशका विभिन्न समाज र समुदायहरूसम्म पुग्ने योजनासमेत बनाएका छौं।
एजुकेसन किट भनेको के हो? र यो प्रोजेक्ट किन सुरु गर्नु भयो?
एनसेल फाउन्डेसनको एजुकेसन किट भन्नाले शैक्षिक सामग्रीहरूको एउटा प्याकेज हो, जुन देशभरका विभिन्न सरकारी विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गर्दै वितरण गरिन्छ। यसको मुख्य उद्देश्य दुर्गम तथा स्रोतसाधनको अभाव रहेका क्षेत्रका विद्यार्थीहरूलाई आधारभूत शैक्षिक सामग्री प्रदान गरी उनीहरूको सिकाइ र पठनपाठन प्रक्रियालाई सहज बनाउनु हो। यस किटमा स्कुल ब्याग, कापी, कलम, पेन्सिल, इरेजर, शार्पनर, रंगीन पेन्सिल, क्रेयनलगायतका सामग्री समावेश गरिएका हुन्छन् । हामीले आफ्नो सेवा देशभर ९५ प्रतिशत भन्दा बढि जनसंख्या समेट्ने गरि विस्तार गरिसकेका छौं । बाहिरी जिल्लाका विद्यालयहरूमा जाँदा कतिपय बालबालिकाहरूले स्कुलब्याग नबोकी किताब–कापीहरू प्लास्टिकको झोलामा बोकिरहेको देख्यौं। त्यही दृश्यले यस क्षेत्रमा समर्थनको खाँचो गहिरो रूपमा महसुस गरायो ।
त्यसपछि, मधेश प्रदेशको जनकपुरबाट पाइलट प्रोजेक्टको रूपमा एजुकेसन किट कार्यक्रम सुरु गरियो। शुरुवातमा १५०० जना विद्यार्थीलाई लक्षित गरिएको थियो। हाम्रो सानो सहयोगपछि विद्यार्थीहरूको अनुहारमा देखिएको खुसीले हामीलाई गहिरो प्रेरणा दियो, र यस प्रोजेक्टलाई अझ व्यापक रूपमा विस्तार गर्ने ऊर्जा प्राप्त भयो। हालसम्म हामी नेपालका ६५ भन्दा बढी सरकारी विद्यालयहरूमा पुगेर झन्डै ७,००० ओटा एजुकेसन किट वितरण गरिसकेका छौं। हाम्रो दीर्घकालीन चाहना-एजुकेसन किट देशका सम्पूर्ण विद्यालयमा पुर्याउनु हो । अबको एक वर्षमा १ लाख ओटा एजुकेसन किट देशभरका विभिन्न सरकारि विद्यालयहरूमा पुर्याउने हाम्रो लक्ष्य रहेको छ।
विद्यालयका साना बच्चाहरूलाई एजुकेसन किट उपलब्ध गराउँदै गर्दा कस्तो महसुस गर्नु हुन्छ?
‘यो एउटा अवसरको ढोका हो-एक यस्तो अवसर जसले भविष्य बदल्न सक्छ।’ ‘जब म ती नानीहरूको अनुहारमा उत्साह र खुशी देख्छु, मलाई लाग्छ कि हामी केही साँच्चिकै अर्थपूर्ण गरिरहेका छौं।’
जब ती बालबालिकाको आँखामा टल्कने भविष्य देख्छु, त्यो क्षणले मलाई उत्साहित बनाउँछ। म पनि एक आमा हुँ-यस्तो लाग्छ कि मैले मेरै बच्चाहरूलाई दिइरहेको छु। ‘आफ्नो दुई बच्चाहरूको खुशी र मुस्कान मैले तिनै बच्चाहरूमा पाउँछु।’ हामीले उनीहरूलाई ‘हाम्रै आफ्नै बच्चा’ सम्झिने गरेका हुन्छौं। यो केवल व्यावसायिक सन्तुष्टिको कुरा होइन-‘मनैबाट खुशी लागेर आउँछ।’
नयाँ पुस्तालाई लक्षित गर्दै एनसेल फाउन्डेसन सिप विकास र महिला सशक्तिकरणका क्षेत्रमा के कस्ता काम गरिरहेको छ?
एनसेल फाउन्डेसनले नयाँ पुस्तालाई सशक्त बनाउने लक्ष्यसहित सिप विकास तथा महिला सशक्तिकरणका क्षेत्रमा उल्लेखनीय कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। विशेष गरी ‘सिप मेला २०८२’ कार्यक्रममार्फत फाउन्डेसनले हालसम्मकै सबैभन्दा ठूलो सिप विकास अभियानमा सहकार्य गरेको छ, जुन काठमाडौं महानगरपालिकासँगको सहकार्यमा सञ्चालन भएको हो ।
यस कार्यक्रम अन्तर्गत युवाहरुलाई रोजगारीको सम्भावना बढाउने व्यावसायिक सिपहरूमा तालिम दिइएको छ । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका हेरचाहसम्बन्धी तालिमहरू पनि समावेश गरिएकाले यो कार्यक्रम अझ समावेशी बनेको छ । महिला सशक्तिकरणको सन्दर्भमा पनि एनसेल फाउन्डेसनले विभिन्न कार्यक्रमहरू अगाडि बढाएको छ। गत वर्ष, जोन्टा, यूएनइफपीए र युनिसेफ नेपालसँग सहकार्य गरी १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्यौँ यस अभियानको उद्देश्य बालविवाह जस्ता सामाजिक समस्याको समाधान खोज्नु, र किशोरीहरूलाई शिक्षा, स्वास्थ्य र आर्थिक अवसरमा पहुँच दिलाउनु हो।
त्यस्तै, हामीले जनता नेपालसँगको सहकार्यमा महिला साक्षरता कार्यक्रम पनि सञ्चालन गरेको थियौं। विशेषगरी महोत्तरी, सिरहा लगायतका जिल्लामा सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले महिलाहरूलाई लेखपढ र हस्ताक्षर गर्न सक्षम बनाएका छन्, जसले आर्थिक क्षेत्रमा उनीहरूको सहभागिता बढाएको छ। फाउन्डेसनले समय–समयमा विद्यालयस्तरमा चेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ, जसले किशोरी र छात्राहरूमा लैंगिक समानता र अधिकारप्रतिको चेतना अभिवृद्धि गरिरहेको छ।
एनसेल फाउन्डेसनको विपद् व्यवस्थापन र आपतकालीन अवस्थाहरूमा कस्तो भूमिका रहँदै आएको छ?
एनसेल फाउन्डेसनले विपद् व्यवस्थापन र आपतकालीन अवस्थाहरूमा सक्रिय र उत्तरदायी भूमिका निर्वाह गर्दै आएको छ। विशेष गरी, ग्रामीण तथा दूरदराजका बस्तीहरूमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने र स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले फाउन्डेसनले विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएको छ। गत वर्ष आएको बाढीका समयमा, हामी एनसेलका प्रतिनिधिहरू काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका सहित पाँच स्थानिय तहका बाढी प्रभावित गाउँहरूमा पुगेर १५०० हाइजिन किट सहितका आवश्यक राहत सामग्रीहरू एक साताभित्रमा वितरण गरेका थियौँ ।
कोभिड-१९ महामारीको बेला, हामीले प्रत्यक्ष अप्रतक्ष्य रुपमा १० अर्ब रुपैयाँ बराबरको सहयोग प्रदान गरेका थियौं । साथै, टेलिमेडिसिन सेवा, टप–अप सुविधा, निःशुल्क सेवाहरू, तथा अक्सिजन कन्सन्ट्रेटर समेत उपलब्ध गराएको थियो । भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपद्हरूमा फाउन्डेसले खाद्यान्न, लत्ताकपडा, टेन्ट, औषधि लगायतका राहत सामग्रीहरू वितरण गर्दै आएको छ । यस्तै, २०७२ को विनाशकारी भूकम्पपछि, एनसेलले राहत कोषमा १० करोड रुपैयाँ बाहेक १ अर्ब ५९ करोड रुपैयाँ बराबरका सेवाहरु निःशुल्क प्रदान गरेको थियो ।
आपतकालीन अवस्थाहरूमा निःशुल्क कल, एसएमएसजस्ता सेवा उपलब्ध गराउने कार्य फाउन्डेसनको महत्वपूर्ण पहल हो। यसका साथै प्रभावित क्षेत्रहरूमा विद्यालय पुनर्निर्माण, स्वास्थ्य चौकी निर्माण, र सामुदायिक सशक्तिकरण लगायतकाकार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसैगरी, स्थानीय संस्थाहरूसँग सहकार्य गरी विपद् पूर्वतयारी तथा सचेतना अभिवृद्धिका तालिमहरू पनि सञ्चालनमा छन्।
एनसेल फाउन्डेसनको विश्वास छ कि विपद् व्यवस्थापन केवल राहत वितरणमा सीमित हुँदैन, यो दीर्घकालीन पुनर्निर्माण, पूर्वतयारी र समुदाय सशक्तिकरणको निरन्तर प्रक्रिया हो । २०७२ को भूकम्पदेखि हालसम्म, हामीले सञ्चार सेवा, पुनःस्थापना, राहत सामग्री वितरणका कामहरुमा स्थानीय साझेदारहरूसँग सहकार्य गर्दै पुनर्निर्माणमा योगदान पुर्याउँदै आएका छौं ।
हामीले हरेक वर्ष जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा बाढी र पहिरोको सम्भावित जोखिमका बारेमा एसएमएस अलर्टमार्फत पूर्व जानकारी प्रदान गर्दै आएका छौं यसले प्रत्येक वर्ष बाढीका कारण हुने जीउधनको क्षति न्युनिकरणमा उल्लेख्य योगदान पुर्याउँदै आएको छ । भविष्यमा पनि, हामीले प्रविधि र नवप्रवर्तनमार्फत विपद् जोखिम न्यूनीकरणमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने र अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
विभिन्न सङ्घसंस्था वा साझेदारसँग मिलेर काम गर्दाको अनुभव फाउन्डेसनको कस्तो रह्यो?
एनसेल फाउन्डेसनको यात्रामा विभिन्न संघसंस्था र साझेदारहरूसँगको सहकार्य अत्यन्त सकारात्मक, सशक्त र प्रेरणादायी रहँदै आएको छ । हामीले यूनिसेफ, यूएनडीपी, यूएन वुमनलगायत अन्य विभिन्न साझेदार संस्थाहरुसँग सहकार्य गरेका छौं । हामीले जुनसुकै क्षेत्रमा काम गर्दा पनि सरकार तथा सरोकारवाला संस्थाहरूको साथ र सहकार्यलाई अनिवार्य ठान्दछौं। फाउन्डेसनले जहाँ जहाँ परियोजना सञ्चालन गर्यो, त्यहाँ सरकारी निकायहरूले खुला मनले स्वागत गरेका छन्, जसले हाम्रो कार्यान्वयनलाई सहज र प्रभावकारी बनाएको छ।
कर्मयोग संस्थासँगको सहकार्य विशेष रूपमा उल्लेखनीय रह्यो । ‘मेरो नेपाल, मेरो हो-हाम्रो नेपाल’ भन्ने सोच राख्ने संस्थाहरूसँग सहकार्य गर्दा साझा उद्देश्यप्रति प्रतिबद्धता अझ प्रगाढ भएको अनुभव गरियो । हाम्रो प्राथमिकता शिक्षा र स्वास्थ्य भएकाले, यस्ता साझा लक्ष्य भएका संघसंस्थासँग सहकार्य गर्न फाउन्डेसन सधैं तत्पर रहन्छ ।
धुलिखेल अस्पतालसँगको टेलिमेडिसिन कार्यक्रम होस् अथवा सरकारी विद्यालयहरूमा डिजिटल आईटी ल्याब स्थापनाका पहलहरू नै किन नहोस् सबै साझेदार संस्थाहरूको सहयोगबिना सम्भव हुने थिएनन् । हामी विश्वास गर्छौं-सहकार्य नै प्रभावकारी सामाजिक परिवर्तनको मूल मन्त्र हो । त्यसैले हामी सार्वजनिक निजी साझेदारीअन्तर्गत थप के गर्न सकिन्छ हेरिरहेका छौं ।हामी केवल सेवा प्रदान गरिरहेका छैनौं-समुदायसँग हातेमालो गर्दै सशक्तिकरणको यात्रा तय गरिरहेका छौं।
एनसेल फाउन्डेसनको प्राथमिकतामा अब के हुने छ? पाँच वर्षभित्र फाउन्डेसनले के कस्ता परिवर्तन र उपलब्धि हासिल गर्न चाहन्छ?
आर्थिक हिसाबले क्याल्कुलेट गर्दा, गएको १०–१५ वर्षभित्रमा हामीले सामाजिक कार्यहरूमा दुई अर्बभन्दा बढी रकम योगदान गरिसकेका छौं। त्यसैगरी, नेपाल सरकारलाई हामीले ३४० अर्ब रुपैयाँ भन्दा बढी कर तथा शुल्कका रुपमा योगदान गरिसकेका छौं।
हाम्रो संस्थासँग हाल ५०० भन्दा बढी स्थायी कर्मचारीका रुपमा काम गर्दछन् र अप्रतक्ष्य रुपमा एनसेलका कारण एक लाखभन्दा बढीले रोजगारी पाएका छन्, जसले देशको रोजगारी सृजनामा महत्वपूर्ण भूमिका खेलेको छ । अब हाम्रो प्राथमिकता के छ भने-सरकारको मातहतमा रहेर हामीले शिक्षा, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रहरूलाई केन्द्रबिन्दु बनाएर काम गर्नेछौं।
हाम्रो कम्पनीको संचालक समितीका अध्यक्ष सतिशलाल आचार्य सरको नेतृत्वमा, हाम्रो फाउन्डेसनको दृष्टिकोण अझ स्पष्ट र दीगो छ । उहाँको सोच अनुसार, समुदायमा दीगो र समावेशी परिवर्तन ल्याउनु नै हाम्रो मुख्य लक्ष्य हो, र सो लक्ष्यमा पुग्न हामीले सहकार्यलाई मूल आधार मानेका छौं। हामी विश्वस्त छौं की नेपालका लागि नेपालीले नै काम गर्नुपर्छ । एनसेल एक नेपाली संस्था हो, र हामी नेपालीकै लागि विगत २० वर्षदेखि निरन्तर कार्यरत छौं। “समाजको माझ सधैंसँगै” भन्ने हाम्रो फाउन्डेसनको ट्यागलाइनलाई व्यवहारमै उतार्ने अठोट लिएका छौं। यदि हामीले यस्तै साथ र सहयोग निरन्तर प्राप्त गर्दै गयौं भने, २० वर्ष मात्र होइन-२०० वर्षसम्म पनि सेवा र सहकार्यको यात्रामा दृढतापूर्वक सङ्गै यात्रा गर्न सक्छौं।
सामाजिक परियोजना कार्यवयन गर्न जाँदा तपाईंहरूले कस्तो कस्तो चुनौतिको सामना गर्नु पर्छ? र त्यसको व्यवस्थापन कसरी गर्नु हुन्छ?
सामाजिक परियोजनाहरू कार्यान्वयन गर्नु केवल कार्यक्रम सञ्चालन गर्नु मात्र होइन, त्यो समुदायसँगको गहिरो सम्बन्ध, विश्वास र सहकार्यको यात्रासमेत हो। एनसेल फाउन्डेसनको तर्फबाट हामी जब कुनै परियोजना लिएर समुदायमा पुग्छौं, हामीसँग योजना मात्र हुँदैन-हामीसँग प्रतिबद्धता, संवेदनशीलता र समाधानमुखी सोच पनि हुन्छ। हामीले सामाजिक कार्य गर्दै गर्दा विभिन्न तहका चुनौतीहरूको सामना गर्नुपर्छ। कहिलेकाहीँ परियोजनाको प्रकृति अनुसार धेरै लगानीको आवश्यकता पर्छ। तर हामीले त्यसलाई स्थानिय तहमा सहकार्य र स्रोत परिचालनमार्फत व्यवस्थापन गर्दै आएका छौं। समुदायसँगको संवाद, स्थानीय निकायसँगको समन्वय र पारदर्शी कार्यशैलीले हामीलाई चुनौतीहरू पार गर्न सहयोग पुर्याउँछ।
कहिलेकाहीँ जटिलता आउँछ र त्यस्ता चुनौतीहरूलाई संवाद, प्रमाण र समाधानको प्रस्तावमार्फत व्यवस्थापन गरिरहेका हुन्छौं । आजको सामाजिक वातावरणमा एउटा यथार्थ के हो भने-कामभन्दा बढी देखाउने प्रवृत्तिले जनमानसमा विश्वास खस्किएको छ। तर हामीले अनुभव गरेका छौं कि जब निरन्तर रूपमा गुणस्तरीय र प्रभावकारी काम गरिन्छ, त्यो अविश्वास आफैं स्वतः कम हुँदै जान्छ। विश्वास निर्माण समय लाग्ने प्रक्रिया हो, तर जब त्यो विश्वास स्थापित हुन्छ, त्यसले परियोजनालाई दीर्घकालीन बनाउँछ। सामान्य बाधा–अड्चनहरू त स्वाभाविक रूपमा आउँछन्। हाम्रो टिममा म लगायत सङ्गिता दाहाल, सिवाङ्गि मल्ल, रमेश श्रेष्ठ, बिपना बस्नेत छौं । हामी एकअर्काको साथ, समझदारी र साझा उद्देश्यका साथ जुनसुकै चुनौतीको सामना गर्न तयार रहन्छौं । मलाई लाग्छ कि सकारात्मक सोच, पारदर्शिता, र समुदायसँगको सहकार्यले हरेक चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सकिन्छ। एनसेल फाउन्डेसनको मूलमन्त्र नै हो-समाजसँगै अघि बढ्ने। र यही सोचका साथ, हामी हरेक परियोजनामा सहभागिता, समावेशिता र दीगो प्रभाव सुनिश्चित गर्दै अघि बढिरहेका छौं
अन्त्यमा के भन्न चाहनु हुन्छ?
औद्योगिक व्यवसाय नियमावलीमा समेटिएका सीएसआरका क्षेत्रहरुलाई व्यवहारमा उतार्दै नेपालमा योजनाबद्ध सामाजिक रूपान्तरण ल्याउनु पर्दछ । हाम्रो प्राथमिकता शिक्षा, स्वास्थ्य र वातावरणमा रहदै आएको छ । हामी प्रविधि, संस्कृति, खेलकूद, पर्यटन, सिर्जनात्मकता र प्रतिभा विकासजस्ता क्षेत्रमा पनि योगदान पुर्याउन चाहन्छौं-विशेष गरी ती ठाउँहरूमा जहाँ स्रोतको अभाव छ तर सम्भावनाहरू प्रशस्त छन्।
व्यवहारमा जाँदा, धेरै काम नीति तहमै अड्किने अवस्था आउँछ । कहिले मन्त्रालयसम्म पुग्नुपर्छ, कहिले स्थानीय तहसँग संवाद गर्नुपर्छ। हामी ती सबै प्रक्रिया पूरा गरिरहेका छौं। यदि सरकारबाट थोरै मात्र नीतिगत स्पष्टता र सहकार्य प्राप्त भयो भने, हामी अझ खुला, प्रभावकारी र दिगो रूपमा काम गर्न सक्छौं जसले हाम्रो समुदाय र समाजको विकासमा योगदान गर्दछ र आर्थिक सामाजिक विकास हुन्छ ।
सरकार, निजी क्षेत्र र नागरिक समाजबीचको सहकार्यले मात्र सामाजिक रूपान्तरण सम्भव हुन्छ। एनसेल फाउन्डेसनको तर्फबाट हामी सधैं तयार छौं। तर यो यात्रामा नीति तहको समर्थन, पारदर्शिता र साझा सोच अत्यावश्यक छ। हामीले केवल दूरसञ्चार सेवा दिइरहेका छैनौं, भविष्य निर्माण गरिरहेका छौं। यदि हामी सँगै अघि बढ्यौं भने, एनसेलको यो यात्रा २० वर्षको मात्र होइन, नेपालको माझ सँधैं सँगै रही २०० वर्षभन्दा बढि सम्म पनि कायम रहने छ ।