निश्चल बस्नेतको निर्देशन रहेको फिल्म ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शनरत छ । उत्साहजनक शोजका साथ दोस्रो सातामा प्रदर्शनरत फिल्मले व्यवसाय पनि राम्रो गरिरहेको छ । शनिवार यो फिल्मका धेरै शोजहरू हाउसफुल देखिएका थिए । आइतवार पनि फिल्मको अकुपेन्सी राम्रो देखिएको छ ।
मल्टिप्लेक्स अन्तर्गतका हलमा बूकिङ हेर्ने हो भने अधिकांश शोजहरू हाउसफुल हुने चरणमा देखिएको छ । छठ पर्वको विदाको फाइदा फिल्मलाई मिलेको छ । तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको ‘दिमाग खराब’को ‘वर्ड अफ माउथ’ अब्बल छ । अब, केही साता नयाँ नेपाली फिल्म नभएकाले त्यसको फाइदा पनि यसले उठाउन सक्छ । यद्यपि, हलहरुको संस्था नेपाल चलचित्र संघसँग मंगलवार हुने फिल्मको टिमको छलफल कसरी अगाडि बढ्छ भन्ने कुराले पनि त्यसको निर्धारण गर्छ । दर्शक बढिरहँदा पनि हलले पर्याप्त शो नदिएको भन्दै फिल्मको निर्माण पक्षले शुक्रवारबाट प्रदर्शन रोक्ने निर्णय लिएको थियो ।
गत बिहीवार नेपाल चलचित्र संघसँग भएको छलफल सकारात्मक भएपछि फिल्मको प्रदर्शन मंगलवारसम्म नरोक्ने सहमति भएको थियो । मंगलवार बाँकी बुँदाहरूमा छलफल गरी निष्कर्षमा पुग्ने सहमति छ । सामाजिक–राजनीतिक विषयमा निर्माण भएको यो फिल्ममा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराललगायतको शीर्ष अभिनय छ । फिल्मको कथा आकाश बरालले लेखेका हुन् भने रौनक विक्रम कंडेल फिल्मको निर्माता हुन् ।