नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव सी)का छोरा प्रकाश विवाह बन्धनमा बाँधिएका छन् । पार्टीको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव समेत रहेका प्रकाशले अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य डा. मान्यता सीसँग विवाह गरेका हुन् । नेकपाले पार्टीका सबै नेता/कार्यकर्ताको नामपछाडि सी लेख्ने चलन चलाएको छ । खादामाला र टीका लगाएर गरिएको प्रगतिशील विवाहमा नवविवाहित जोडीलाई विप्लवले विरुवा दिएर बधाई तथा शुभकामना दिएका छन् । ‘प्रगतिशील विवाह कार्यक्रम’को व्यानरमा सामान्य ढंगले कपिलवस्तुमा बुधबार विवाह भएको हो । पार्टीका नेता तथा कार्यकर्तालाई साक्षी राखेर निकै संक्षिप्त रूपमा गरिएको विवाह कार्यक्रममा ३० हजार रूपैयाँ मात्र खर्च भएको बताइएको छ । प्रकाश चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूको नेतृत्व गर्दै चितवन मेडिकल कलेजमा भएको आन्दोलनबाट चर्चामा आएका थिए । उनी पेशाले डाक्टर समेत हुन् ।