आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

आफ्नो एक इञ्च जमिन छोड्दैनौं, छिमेकीको चाहिँदैनः प्रधानमन्त्री


Nepal Raibar
४, जेठ २०८० (अर्काइभ बाट)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालले अपनाउँदै आएको परराष्ट्र नीतिलाई आफू नेतृत्वको सरकारले पनि निरन्तरता दिएको बताएका छन् । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमाले सांसद रघुजी पन्त र कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले गरेका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले निकट भविष्यमा गर्न लागेको भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरा एजेन्डामा पर्छ कि पर्दैन भन्ने प्रश्न सांसद पन्त र बडूले गरेका थिए । ‘हाम्रो एक इञ्च जमिन पनि छोड्न सक्दैनौं, हामीलाई छिमेकीको एक इञ्च जमिन चाहिँदैन । यो नीति अन्तर्गत हामी नेपालका सबै राजनीतिक दलहरू र यो सम्मानित सदन सबै हामी एकमत नै छौं । त्यै मान्यताभित्र रहेर नै भारत सरकारसँग कुराकानी हुन्छ ।’ उनले थपे, ‘नेपाल आफ्नो एक इञ्च भूमि पनि अन्य राष्ट्रलाई नदिने र अरु राष्ट्रको नलिने सिद्धान्तमा अडिग छ । यसै सिद्धान्तमा रहेर छिमेकीसँग सम्बन्ध कायम गर्न नेपाल प्रयत्नशील रहेको छ । मेरो निकट भविष्यमा हुने भारत भ्रमण पनि नेपालको बृहत्तर हित अभिवृद्धि गर्ने कार्यमा केन्द्रित रहने विश्वास म व्यक्त गर्न चाहन्छु ।’ नेपाल–भारतबीचका विभिन्न विवादका सम्बन्धमा दुई देशबीच गठन भएको प्रबुद्ध व्यक्ति समूह ९ईपीजी० को प्रतिवेदन बुझ्ने विषयमा पनि विषय राखिने प्रधानमन्त्रीले बताए । भारतले बुझ्ने कि नबुझ्ने भन्ने कुरा भ्रमणमा गएपछि नै थाहा हुने उनले बताए ।